व्यापार सम्बन्ध सृदृढ बनाउन भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमण


मध्यपूर्वमा सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण सुरु गर्नुभएको छ ।
मोदीको दुई दिवसीय भ्रमणको प्रारम्भमा दुवै सरकारले प्रमुख व्यापार र यातायात मार्गमा फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका छन् । मोदीको पछिल्लो आठ महिनामा यो तेस्रो युएई भ्रमण हो । उहाँको यो भ्रमण अप्रिलमा सुरु हुने भारतको राष्ट्रिय निर्वाचनअघि भएको हो ।
राजधानी अबुधाबीमा एउटा सामुदायिक कार्यक्रममा हजारौँ प्रवासीहरूलाई सम्बोधन गरेको एक दिनपछि बुधबार उहाँले यस क्षेत्रको सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । युएईमा रहेका भारतीयहरूले विदेशबाट मतदान गर्न नपाउने भए पनि यो भ्रमण मुख्यरूपमा प्रवासी भारतीयहरूलाई प्रेरित गर्नेमा केन्द्रित रहेको विशेषज्ञहरूले बताएका छन् । युएईमा करिब ३५ लाख भारतीय रहेका छन् । उनीहरू खाडी देशको सबैभन्दा ठूलो आप्रवासी समुदाय हुन् ।
भारतीय विदेश मन्त्रालय तथा स्थानीय सरकारी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीले मङ्गलबार युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेट गर्नुभयो । पछिल्लो आठ महिनामा उहाँको यो पाँचौँ भेट हो । उहाँहरूले द्विपक्षीय लगानी सन्धि, २०२२ मा हस्ताक्षर भएको बृहत् आर्थिक साझेदारी सम्झौतामा निर्माणलगायत धेरै सम्झौतामा हस्ताक्षर गर्नुभएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
उहाँहरूले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरमा ‘अन्तरसरकारी ढाँचा सम्झौता’ मा पनि हस्ताक्षर गर्नुभएको छ । यो एक जहाज–देखि–रेल ट्रान्जिट नेटवर्क हो र यो विद्यमान सामुद्रिक र स्थल मार्गमा पूरक हुनेछ ।सेप्टेम्बरमा नयाँदिल्लीमा जी२० शिखर सम्मेलनका अवसरमा पहिलोपटक आधुनिक स्पाइस रुटको महत्त्वाकांक्षी योजनाको घोषणापछि आएको सम्झौताका बारेमा मन्त्रालयले विस्तृत जानकारी दिएको छैन ।
तीन दशकमा कुनै पनि भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमणका रूपमा मोदीले सन् २०१५ मा युएईको ऐतिहासिक भ्रमण गर्नु भएपछि सम्बन्ध विस्तारै गहिरो हुँदै गएको छ । सन् २०२२ र सन् २०२३ को बीच करिब ८५ अर्ब डलरको द्विपक्षीय व्यापारका साथ युएई भारतको तेस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।
पछि मङ्गलबार मोदीले अबुधाबीको जायेद स्पोर्ट्स सिटी रङ्गशालामा ठूलो भीडलाई सम्बोधन गर्नुहुने अपेक्षा गरिएको थियो । आयोजकहरूले उक्त रङ्गशालामा प्रवेश गर्नका लागि ६० हजार प्रवासी भारतीयले दर्ता गरेको बताएका छन् ।
मोदी एन्ड द रिइन्भेन्सन अफ इन्डियन फरेन पोलिसी पुस्तकका लेखक इयान हलले भन्नुभयो, “मोदीका लागि यो भ्रमण प्रवासी भारतीयमाथि केन्द्रित हुनेछ ।”