`

‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’- मुख्यमन्त्री जम्कट्टेल

Nepal One HD ५ फागुन २०८० ७:१२
राजनीति

धुलिखेल – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका कृषकको जीवनस्तरलाई उकास्ने खालका कार्यक्रमलाई अगाडि बढाउँदै कृषि क्षेत्रलाई महत्वका साथ लिएर काम गरिरहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा शुक्रबारदेखि बनेपामा सुरु भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव’ मा उहाँले समुदायमा आधारित उत्पादनको ‘पकेट’ क्षेत्र प्रदेशभित्र लागू गर्ने तयारीमा आफू रहेको बताउनुभयो ।

प्रदेशभित्रका नगर पालिका प्रमुख उपप्रमुखहरुसँग छलफल गरी त्यसलाई मूर्तरुप दिन प्रदेश सरकारले कार्यविधि निर्माण गर्ने उहाँले बताउनुभयो । प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, बैंक, सहकारी, वित्तीय संस्था सबैले लगानी गर्न सक्ने व्यवस्था गरेको बताउँदै उहाँले साँच्चै योजनामा नै उत्पादनलाई बढाउने गरी समृद्ध प्रदेश बनाउन आफू प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले कृषिका माध्यमबाट नै मुलुकलाई समृद्ध बनाउनका सकिने र त्यसनिम्ति प्रदेशले रणनीतिक योजना बनाएर अगाडि बढिसकेको बताउनुभयो ।

पूर्वमन्त्री गोकुल बाँस्कोटाले कृषि क्षेत्रलाई आर्थिक विकासको आधार मानेर काम गर्नुपर्नेमा जोड दिनुभयो । देशको अर्थतन्त्रलाई उकास्ने माध्यम नै कृषि भएकाले नीति निर्माताले पनि यस क्षेत्रको उन्नयनका निम्ति इमानदार भएर काम गर्नुपर्छ भन्नुभयो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री डा. राजेन्द्र मान श्रेष्ठले कृषि क्षेत्रमा काभ्रेपलाञ्चोक जिल्लाको ठूलो योगदान रहेको बताउँदै किसानहरुलाई कृषि कर्ममा अझ उत्साहित भएर लाग्न आग्रह गर्नुभयो ।


प्रतिक्रिया