`

गरिखाने शिक्षा, आजको मूल आवश्यकता : मुख्यमन्त्री शर्मा

Nepal One HD ११ फागुन २०८० १८:०९
राजनीति

कर्णाली, ११ फागुन (रासस) : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गरिखाने शिक्षा आजको मूल आवश्यकता भएको बताउनुभएको छ । कोपिला भ्याली स्कुल वीरेन्द्रनगरको १३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले सूचना र प्रविधिको विकाससँगै शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्ने बताउनुभएको हो । “हाम्रा शैक्षिक संरचना योग्य नागरिक उत्पादन गर्ने कारखानाका रुपमा विकास हुनुपर्छ,” उहाँले भन्नुभयो, “टाउकोले टेक्ने खालको हाम्रो शिक्षा नीति खुट्टाले टेक्ने बनाउनुपर्दछ ।

” सरकारले गर्नुपर्ने काम कोपिला भ्याली स्कुलले गरेको बताउनुभएका मुख्यमन्त्री शर्माले श्रम, सीप, प्रविधि र संस्कारसँग जोडिएको शिक्षा पनि यो विद्यालयले दिएको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नयन र सुदृढीकरणका लागि सबै सरोकार भएका निकायको साझा भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

उहाँका अनुसार नागरिक खुसी र सुखी बन्ने अवस्था सृजना नहुन्जेलसम्म समृद्धि कोरा भाषणमा मात्र सीमित हुन्छ । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले कर्णालीको शैक्षिक विकास र यहाँका पहुँचविहीन तथा विपन्न समुदाय बालबालिकाका लागि कोपिला भ्याली वरदान सावित भएको बताउनुभयो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर मल्लले विसं २०६७ मा बाँसको टहराबाट सुरु गरेकामा १३ वर्षपछि हरित विद्यालयसम्म निर्माण गर्न सकिएको बताउनुभयो । विद्यालयका सहसंस्थापक म्याग्गी डोयनले कर्णालीमा आएर काम गर्न पाउँदा गर्व गरेको बताउनुभयो ।


प्रतिक्रिया