`

आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना हुन नजानुस्ः प्रधानसेनापति शर्मा

Nepal One HD ११ फागुन २०८० १९:३५
प्रमुख खबर

चितवन । प्रधानसेनापति प्रभुराम शर्माले विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न सुझाव दिएका छन् । नेपाली सेना कल्याणकारी बोर्डद्वारा शुक्रबार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना हुन नजान आग्रह गरे । 

अवकाशप्राप्त एवं बहालवाला सैनिकलाई आफ्नै गाउँ ठाउँमा प्रचुर सम्भावना भएको भन्दै सैनिक जीवनको दौरान प्राप्त ज्ञान सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लाग्न आह्वान गरे । प्रधानसेनापति शर्माले भने, “विदेशमा जाने, विदेश पुग्नका लागि गैरकानुनी मार्ग प्रयोग गर्ने र विदेशी सेनामा भर्ना हुनुको सट्टा आफँै गाउँ, ठाउँ, टोल, जिल्लामा रहेका सम्भावना उपयोग गर्न सकेमा समाजमा आत्मसम्मान र प्रतिष्ठामा समृद्धि हुन्छ । यसले गर्दा समग्र देश विकासमा टेवा पुग्ने मैले विश्वास लिएको छु ।”

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले नेपाली सेनाका पूर्वसैनिकले आयआर्जनका लागि कृषि, विभिन्न व्यवसाय, उद्योग सञ्चालन गरी समाजमा रोजगारीको अवसर सिर्जना गर्न सफल भएको बताए ।

उनले पूर्वसैनिकले स्थानीयस्तरमा विभिन्न कार्यमा सरिक भई समाजप्रति पुर्याएको योगदानको प्रशंसा गरे । उनले सम्मेलन र सैनिक कल्याणकारी कोषबाट भूपू सैनिकका लागि सञ्चालन भइरहेको विभिन्न सेवा र सुविधाबारे जानकारी गराए । ‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने नारासहित यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा यस क्षेत्रका ज्येष्ठ भूपू ९६ वर्षीय गङ्गाबहादुर सुनुवार र ज्येष्ठ एकल महिला ९८ वर्षीय गोमादेवी कार्कीलाई सम्मान गरियो । 

कार्यक्रममा नेपाली सेनामा  आफ्ना चार वा सोभन्दा बढी सन्ततिलाई भर्ना हुन प्रेरित गर्ने सातजना माता र पितालाई सम्मान गरियो । सो अवसरमा यस क्षेत्रमा बसोबास गर्ने फरक क्षमताका हिताधिकारीलाई व्हिल चेयर, वैशाखी तथा  नेपाल इन्भेष्टमेन्ट मेघा बैङ्कका तर्फबाट आर्थिक सहयोग प्रदान गरियो ।

सम्मेलनका क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियतदरमा उपलब्ध गराइएको रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपूसैनिक र एकलको सम्मान गरियो । भूपूसैनिकको जोसिलो मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी र सैनिक ब्यान्ड प्रदर्शनका साथै ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका मातापितालाई सम्मान र अन्तरक्रिया कार्यक्रम भयो ।

  सम्मेलनमा प्रस्तुत मौलिक वेशभूषासहितको गीत, सङ्गीतसहितको नृत्य र झाँकीले यस क्षेत्रको भाषा, संस्कृति र रहनको संरक्षण, संवद्र्धन र उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदानप्रदानले बहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको सम्मेलनमा सहभागीलाई टोपी, सल, ट्रयाकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराउने सैनिक परम्परा छ ।

  प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने अभ्यास छ । मुलुकमा हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८७ हजार दुई छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १६ हजार दुई सय ११ भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका  विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायत सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ । सैनिक कल्याणकारी कोषमा लगानी रहेकोसमेत गरी हाल  ८२ अर्ब ६६ करोड १२ लाख सम्पत्ति रहेको सो अवसरमा जानकारी दिइयो ।

सेनाभूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत् हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ । सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर हो । आगामी चैत ४ गते उपत्यका पृतना र मातहतका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा  भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया