`

थाई विमानस्थलमा पशु तस्करलाई रोक्ने क्रममा पशुपक्षी बरामद

Nepal One HD २३ फागुन २०८० १८:०५
विश्व

थाइल्यान्डका भन्सार अधिकारीहरूले रेड पान्डा, सर्प, सुगा र छेपारोलगायत ८६ अन्य पशुपक्षीको तस्करी प्रयास गरेको आरोपमा छ भारतीयलाई पक्राउ गरेको अधिकारीहरूले बुधबार बताएका छन् ।

बैङ्ककको सुवर्णभूमि विमानस्थलमा संदिग्धहरूले मुम्बईका लागि उडान भर्ने प्रयास गरिरहेको बेला उनीहरूको जाँच गरिएको सामानमा अवैध पशुपक्षी समूह लुकाएको पाइएको थियो । थाइल्यान्ड वन्यजन्तु तस्करहरूका लागि प्रमुख ‘ट्रान्जिट हब’ हो । तस्करहरूले प्राय पशुपक्षीलाई चीन र भियतनाममा बिक्री गर्दछन् । यद्यपि हालैका वर्षहरूमा भारतमा तस्करीमा वृद्धि हुन थालेको छ ।

भन्सार विभागले विज्ञप्तिमा भनेको छ, “कालो घाँटी भएको मनिटर छेपारो २९ वटा, २१ वटा सर्प, सुगासहित पक्षी १५ गरी कूल ८७ पशपक्षी छन् भन्ने हामीलाई थाहा भयो, ती पशुपक्षी सामानभित्र लुकाइएको थियो ।”

विभागले जारी गरेको तस्बिरहरूमा लोपोन्मुख प्रजाति रेड पान्डाले सानो डालोबाट बाहिर हेर्दै गरेको देखिएको छ भने एउटा सुगा हावाका लागि प्वाल पारिएको ढक्कनसहितको प्लास्टिक कन्टेनरमा बन्द गरिएको थियो । धेरै प्लास्टिक टबहरूमा छेपाराहरू राखिएको थियो भने सर्पहरूलाई कपडाको थैलीमा एकसाथै लपेटिएको देखिएको थियो ।

संदिग्धहरूले अधिकतम १० वर्षको कारागार वा आयात शुल्कको चार गुणा सजाय भोग्नुपर्नेछ । गत महिना एक मङ्गोलियालीलाई कोमोडो ड्र्यागन, अजिङ्गर र दुई दर्जन जीवित माछा मुलुकबाट बाहिर तस्करी गर्न खोजेको आरोपमा सोही विमानस्थलमा पक्राउ गरिएको थियो ।


प्रतिक्रिया