‘विकासोन्मुख देशमा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण हुन्छ’ – खिलराज रेग्मी
काठमाडौँ, २३ फागुन : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायधीश खिलाराज रेग्मीले विकासोन्मुख देशमा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
फोकस नेपाल नामक संस्थाद्वारा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले मुलुकको विकासका लागि सरकारी तथा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । उहाँले सामाजिक सङ्घसंस्थालाई देश र समाजको आवश्यकतालाई हेरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले सरकारसँग सहकार्य गरेर आफ्नो भूमिकालाई सशक्त बनाउन संस्था लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
जलस्रोत विज्ञ ताराप्रसाद भट्टराईले राजनीतिक खिचातानीका कारण मुलुकले सोचेजस्तो विकास गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले जलस्रोतको अथाह सम्भावना भएको नेपालले जलविद्युत् क्षेत्रबाट फाइदा लिनुपर्ने बताउनुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासबाटै समुन्नत नेपाल निर्माण गर्न सकिने बताउनुभयो ।
—
