पुटिन ८७ प्रतिशत मतसहित अर्को कार्यकालका लागि अनुमोदित : रूसी सञ्चारमाध्यम


रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको छ बर्षको नयाँ कार्यकालका लागि निर्बाचित हुनुभएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उहाँका आलोचकहरूले आरोप लगाएका छन् ।
रूसी निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको चुनावी नतिजा अनुसार पुटिनले ८७ प्रतिशत मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी निकोलाई खारितोनोभले ४.१ प्रतिशत, भ्लादिस्लाभ दाभान्कोले ३.८ प्रतिशत र लियोनिद स्लट्स्काईले ३.१५ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन अधिकारीले चुनावमा ७४ प्रतिशत मतदाता सहभागी भएको बताएका छन् ।आलोचकहरूले यो निर्वाचनमा खासमा कुनै भरपर्दा विपक्षी नेतालाई निर्वाचनमा उम्मेदवार बन्नबाट रोक लगाइएको यो निवाचनमा राष्ट्रपति पुटिनले सन् २०१८ को निर्वाचनमा ल्याएकोभन्दा झण्डै १२ प्रतिशत मत बढी ल्याउनुभएको देखिन्छ ।
रूसको राजनीतिमा सशक्त विपक्षीको भूमिका खेल्दै आएका एलेक्सी नभाल्नीको निर्बाचनभन्दा करिब एक महिना जेलमा मृत्यु भएको थियो । मृत्युलाई पुटिनका आलोचक तथा विपक्षी नेताहरूले ‘रहस्य’का रूपमा हेर्दै आएका छन् । यो समय पुटिनको आलोचक मानिने प्राय नेता कित विदेशमा निर्वासित जीवन विताइरहेका छन् कि रूसी जेलमा छन् ।
निगरानी समूह ओभीडी–इन्फोका अनुसार निर्वाचनका समय विपक्षी नेताहको अभियानलाई सघाएका कम्तीमा ८० जना रूसी नेता पक्राउ परेका छन् ।यसैबीच, रूसका पूर्वव्यवसायी तथा क्रेमलिनका आलोचक मिखाइल खोदोर्कोभ्स्कीले रूसी शासकविरुद्ध विपक्षी एकजुट रहेको पुष्टि गर्दै सोमबार पश्चिमा सरकारलाई भ्लादिमिर पुटिनको विजयलाई मान्यता नदिन आग्रह गर्नुभएको छ ।
सेन्टर फर लिबरल मोडर्निटीथिङ्क ट्याङ्कमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले पश्चिमा समाजप्रति ठूलो अपेक्षा राखेका छौँ र हामी पुटिनलाई वैध नमान्न आग्रह गर्छौं ।”
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनबाट चुनिएकोमा रूसी राष्ट्रपति पुटिनलाई बधाई ज्ञापन गर्दै उहाँसँग आगामी दिनमा थप सहकबार्य गर्ने बताउनुभएको छ । कैयौँ पश्चिमा देशहरूले पनि रूसको चुनाव स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आलोचना गरेका छन् ।
वाशिङटनले ‘स्वाभाविक रूपमा चुनाव स्वतन्त्र र निष्पक्ष नरहेको’ जनाएको छ । अमेरिकाले जस क्रममा पुटिनले राजनीतिक विपक्षीहरूलाई जेल हालेको र अन्यलाई उनीविरुद्ध चुनाव लड्न रोक लगाएको कुरा उल्लेख गरेको छ ।जर्मनीले त्यसलाई नियन्त्रण, दमन र हिंसाका भरमा एक अधिनायकवादी शासकले गराएको ‘छद्म निर्वाचन’ को संज्ञा दिएको छ ।
यूकेका विदेशमन्त्री डेभिड क्यामरूनले ‘युक्रेनी भूभागमा गराइएका गैर कानुनी निर्वाचन’ को निन्दा गर्नुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसी शासकले थप एक चुनावको नाटक गरेको’ टिप्पणी गर्नुभएको छ । उहाँले जीवनभर शासन गर्नका लागि पुटिनले जे पनि गर्ने जिकिर गर्नुभयो ।
पोल्यान्डले मतदान निकै दमनको अवस्थाबीच भएको र त्यस्तो अवस्थामा स्वतन्त्र र लोकतान्त्रिक विकल्प छान्नु असम्भव भएको बताएको छ ।निर्वाचनको नतिजा सार्वजनिक भएपछि नेता पुटिनले रूसी सामाजिक सञ्जाल टेलीग्राममार्फत सन्देश जारी गर्दै आगामी दिनमा देशको सेनालाई थप बलियो बनाउने र ‘युक्रेनमा रूसको विशेष सैन्य कारबाही’लाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
उहाँले प्राप्त नतिजाले रूसको हालको कदमप्रति जनताले विश्वास प्रस्तुत गरेको बताउनुभएको छ । उहाँले रुसीहरू एकताबद्ध हुँदासम्म उनीहरूलाई कसैले भयभित पार्न वा दबाउन नसक्ने बताउनुभयो ।