निष्कासनअघि पाकिस्तानले अफगान बासिन्दाको ‘म्यापिङ’ गर्दै


पाकिस्तानले इदपछि सुरु हुने नयाँ सिराको निष्कासन अभियानअघि अफगान आप्रवासीहरूको तथ्याङ्क सङ्कलन गरिरहेको आधिकारिक स्रोतहरूले मङ्गलबार बताएका छन् । निष्कासन हुनेमा कानूनीरूपमा रहेका मानिस पनि सामेल छन् ।
सुरक्षालाई लिएर इस्लामाबाद र काबुलबीच सम्बन्धमा चिसोपन आएसँगै पाकिस्तानको पूर्वसरकारले कागजातविहीन आप्रवासीहरूलाई मुलुक छाड्न वा पक्राउको सामना गर्न आदेश दिएपछि गत वर्ष पाँच लाखभन्दा धेरै अफगान पाकिस्तानबाट भागेका थिए ।
प्रारम्भमा इस्लामाबादले सन् २०२३ नोभेम्बरसम्मको समयसीमा निर्धारण गरेको थियो । यद्यपि नाम उल्लेख नगर्ने शर्तमा दुई अधिकारीले आगामी साताहरूमा पुनः निष्कासन सुरु हुने बताएका छन् ।
अफगानिस्ताको सीमासँग जोडिएको खैबर पख्तुनख्वा प्रान्तका एक वरिष्ठ अधिकारीले भन्नुभयो, “यसपटक कानूनीरूपमा बसोबास गर्ने अफगानहरूको तथ्याङ्क सङ्कलन गर्न र म्यापिङ गर्न पनि निर्देशन दिइएको छ ।”
सोही प्रान्तका एक वरिष्ठ प्रहरी अधिकारीले सरकारले अहिलेसम्म ‘अन्तिम निर्णय’ नलिएको भए पनि ‘प्रहरी अफगानहरूको सम्बन्धमा कारवाहीमा जुटेको’ बताउनुभयो । “सङ्घीय सरकारले वैध र अवैध अफगानहरूको तथ्याङ्क सङ्कलन गर्न मात्र नभएर उनीहरूको म्यापिङ गर्न पनि निर्देशन दिएको छ”, उहाँले भन्नुभयो ।
यसअघि नाम उल्लेख नगर्ने सर्तमा दुई अधिकारीले आप्रवासीहरूलाई निष्कासन गर्ने नयाँ प्रयास इदपछि सुरु हुने बताएका थिए । इद मुसलमानहरूको पवित्र उपवास महिना रमजानको अन्त्यमा मनाइने बिदा हो । यो अप्रिलको दोस्रो सातामा मनाइन्छ ।
पाकिस्तानको गृह मन्त्रालयले यसबारे टिप्पणीको अनुरोधलाई कुनै जवाफ दिएन । यसअघि नै इस्लामाबादले सुरक्षा चिन्ता र आफ्नो धर्मराउँदो अर्थतन्त्रका कारण ठूलो मात्राको निष्कासन उचित रहेको बताएको छ ।
यद्यपि विश्लेषकहरूले अफगानिस्तानसँग पाकिस्तानको सीमावर्ती क्षेत्रहरूमा बढ्दो हमलाहरूलाई लिएर काबुलमाथि दबाब दिनका लागि डिजाइन गरिएको बताएका छन् । सीमावर्ती क्षेत्रहरूमा तालिबान सरकारमाथि आतङ्कवादीहरूलाई संरक्षण र सुरक्षित आश्रय दिएको आरोप लागेको छ । तालिबान सरकारले आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।
दशकौँदेखि जारी द्वन्द्वबाट भागेर लाखौँ अफगान पछिल्ला केही वर्षमा पाकिस्तान आएका छन् । गत वर्ष पाकिस्तान छाड्ने अफगानहरूलाई सीमित सामान र नगदका साथ सीमा पार गर्ने अनुमति दिइएको थियो । उनीहरू विश्वको सबैभन्दा खराब मानवीय सङ्कटका बीच अफगानिस्तान पुगेका थिए ।
केही अफगानको जन्म अफगान मातापिताबाट पाकिस्तानमा भएकाले उनीहरूले कहिल्यै अफगानिस्तानमा पाइला राखेका थिएनन् । सन् २०२१ मा तालिबान सरकारले सत्ता कब्जा गरेर इस्लामिक कानूनको कडा व्याख्या लागु गरेपछि करिब छ लाख मानिस पाकिस्तान आएका थिए ।
निष्कासनको पहलो लहर सुरु हुनुअघि पाकिस्तानले १७ लाख अफगान अवैधरूपमा पाकिस्तानमा रहेको अनुमान लगाएको थियो । तालिबान अधिकारीहरूका अनुसार अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणमा आठ सर्वसाधारण मारिएपछि गता साता इस्लामाबाद र काबुलबीचको गतिरोध अझ बिग्रियो ।
पाकिस्तानी भूमिमा आतङ्कवादीहरूले सात पाकिस्तानी सैनिकको हत्या गरेपछि इस्लामाबादले अफगान भूमिमा आक्रमण गरेको थियो । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले सैनिकको हत्यामा बाहिरी शक्तिलाई दोष दिँदै बदला लिने वाचा गर्नुभएको थियो ।