सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थाल्ने माओवादीको निर्णय
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन नेकपा माओवादीले पहल थाल्ने भएको छ । आइतबार बसेको पार्टीको संसदीय दलले नयाँ समीकरणअनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य ओमविक्रम भाट सरलले केन्द्रको सत्ता समीकरण अनुरुप सुदूरपश्चिममा पनि सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरिएको जानकारी दिए ।
२१ फागुनमा केन्द्रमा एमाले–माओवादीसहितको गठबन्धन बनेपछि २३ फागुनमा माओवादीले कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
शाहले २२ चैतभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी(नाउपा) का सात मध्ये पाँच जनालाई मन्त्री बनाएका छन् तर नाउपाको आन्तरिक किचलोले मुख्यमन्त्री शाह थप अप्ठ्यारोमा परेका छन् । कांग्रेसका १८ र नाउपाका ७ गरेर शाहको पक्षमा २५ जना छन् ।
राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थन लिएर शाह आफ्नो पक्षमा बहुमत सांसद २७ जना पुर्याउने पक्षमा छन्। यसै क्रममा माओवादीसहितका दलहरु भने अर्को सरकार गठन गर्ने तयारीमा जुटेका छन् ।
