पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध
चितवन, १९ चैत : प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सर्वाेच्चमा १० वर्षभन्दा अघिका ४० वटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले पाँच वर्ष माथिका मुद्दाहरु छिटो फछ्र्यौट गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।
“पाँच वर्ष नाघेका मुद्दालाई विशेष अभियान चलाएर निश्चित रुपमा कानुनी बाटो अपनाइ छिटो फर्छ्यौट गर्न प्रतिबद्ध छौँ,” प्रधान न्यायाधीश श्रेष्ठले भन्नुभयो, “सबैभन्दा पुरानो भनेको २०६७ सालका मुद्दाहरु छन्, ती मुद्दाहरुलाई मुद्दा व्यवस्थापन पद्धतिबाट न्यूनिकरण गर्न थालिएको छ ।” ती मुद्दाहरुको व्यवस्थापन नगरेको भए ठूलो सङ्ख्यामा मुद्दा बाँकी रहने उहाँको भनाइ थियो ।
उहाँ सर्वोच्चमा आउनुअघिका मुद्दाहरु विभिन्न कारणले फर्छ्यौट हुन बाँकी रहेको उहाँले बताउनुभयो । मुद्दा फैसला आजको भोलि भनेजस्तो नहुने भएकोले फैसलाको प्रक्रिया र कानुनी कुरामा भर पर्ने उहाँको भनाइ छ । सर्वाेच्च अदालतको सुधारको प्रक्रियामा लागेको उहाँले जिकिर गर्नुभयो । पछिल्लो समयमा बनेका कतिपय कानुनका कारण देशभरका अदालतमा मुद्दाको सङ्ख्या बढेको उहाँले स्पष्ट पार्नुभयो ।
अदालतले गरेको काम कारबाही तुलनात्मक रुपमा अहिले व्यवस्थित विधिबाट छिटो गर्नुपर्छ भनेर जिल्ला अदालत, उच्च अदालतमा मुद्दा फैसला भइरहेको उहाँले जानकारी दिनुभयो । अदालतहरुमा कर्मचारी र न्यायाधीशहरुको व्यवस्थापन मुद्दाको चापअनुसार भइरहेको उहाँको भनाइ थियो ।जीर्ण भएका अदालतहरुलाई नयाँ बनाउनका लागि सरकारसँग पहल भइरहेकाले सबैको सहयोग र समन्वयबाट यी काम पूरा हुने प्रधान न्यायाधीश श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
