`

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार

Nepal One HD २० चैत २०८० १९:२६
विश्व

तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ ।

मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ । कजाकस्तानको आपत्कालीन स्थिति मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भनेको छ, “उद्धार कार्य जारी छ । छ हजार बालबालिकासहित करिब १६ हजार मानिसलाई पहिला नै निकालिएको छ ।”

मन्त्रालयले रुसको सीमामा रहेको उत्तर र पूर्वका पाँच क्षेत्रमा स्थिति ‘जटिल’ रहेको भन्दै ५० बस्तीसँग सडक सम्पर्क विच्छेद भएको बताएको छ ।

कजाख राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले बाढीका लागि तयार नभएकामा सोमबार सार्वजनिकरूपमा सरकारी अधिकारीहरूलाई गाली गर्नुभयो । “विज्ञहरूको कमीका कारण पूर्वानुमानको काम पूर्णतः अनुपस्थित थियो”, उहाँले भन्नुभयो, “स्थानीय नेताहरूले योजनाबद्ध तरिकाले बाढी नियन्त्रणको उपाय गरेका भए मौसमको अवस्थालाई ध्यानमा राख्दा पनि विपद्को नतिजा र मापन कम हुनसक्थ्यो ।”

प्रधानमन्त्री ओल्जास बेक्टेनोभले मङ्गलबार बाढीबाट प्रभावितहरू पहिला कहिले पनि प्रभावित नभएको बताउनुभयो । उहाँले प्रभावित क्षेत्र खाली गर्ने आह्वानको विरोध नगर्न नागरिकहरूसँग आग्रह गर्नुभयो ।

आपत्कालीन मन्त्रालयले जारी गरेको भिडियो फुटेजमा मानिसहरूको उद्धार गरिनुका साथै बढ्दो पानीमा फसेका ऊँटहरूलाई रबरको डुङ्गामा लैजाँदै गरेको देखाइएको छ ।


प्रतिक्रिया