`

गाजामा सक्रिय सहायताकर्मी मारिनु दुःखदः इजरायली सेना प्रमुख

Nepal One HD २१ चैत २०८० १३:२५
विश्व

इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सात जना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताएका छन् ।

सहायताकर्मीको मृत्यु भएकाप्रति अन्तर्राष्ट्रिय समुदायले तिब्र आलोचना गरेसँगै सेना प्रमुख हालेभीले इजरायली सेनाबाट “गम्भीर त्रुटी” भएको स्वीकार गरेका हुन् ।

इजरायली सेनाले वर्ल्ड सेन्ट्रल किचेन नामको सहायता टोलीमाथि सोमबार रातिको समयमा हवाई हमला गरेको थियो । सेना प्रमुख हालेभीले एक भिडियो सन्देशमा वल्र्ड किचेनको सहायता टोलीका गतिविधिलाई राम्रोसँग पहिचान गर्न नसक्दा त्रुटिबस सेनाले हमला गरेको बताए । उनले वर्ल्ड किचेनका सदस्यमाथि जानाजान आक्रमण नगरिएको पनि दाबी गरेका छन् ।

गत अक्टोबरमा युद्ध प्रारम्भ भएयता अमेरिकी परोपकारी संस्था वर्ल्ड किचेनले पहिलो पटक गाजामा विस्थापित सर्वसाधारणलाई खाद्यान्न समेतका दैनिक उपभोग्य राहत सामग्री वितरण गर्न थालेको थियो । हवाई हमलाबाट वल्र्ड किचेनको राहत सामग्री राखेको सवारी साधन ध्वस्त भएको थियो ।

वर्ल्ड किचेनले प्रकाशन गरेको विज्ञप्तिमा समुद्री मार्गहुँदै गाजामा ल्याइएको १०० टनभन्दा बढी मानवीय खाद्यान्न सहायता सामुद्रिक जहाजबाट अर्को गाडीमा राख्दै गर्दा आफ्ना कर्मचारीमाथि हमला भएको जनाएको छ ।

यस आक्रमणबाट अस्ट्रेलिया, बेलायत, प्यालेस्टाइन, पोल्यान्ड र अमेरिकी–क्यानाडेली नागरिक हताहत भएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गरेका छन् ।

उनले इजरायलले गाजामा मानवीय सहायताका लागि मद्दत गरिरहेका सहायताकर्मीमाथि हमला गर्नु अत्यन्त निन्दनीय घटना भएको बताए ।

राष्ट्रपति बाइडेनले उक्त आक्रमणको तत्काल छानबिन गरी घटनाका दोषीमाथि कारबाही गर्न इजरायलसँग माग गरेका छन् ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि मानवीय सहायताकर्मीमाथि भएको आक्रमण अत्यन्त दुःखद रहेको बताउँदै हालसम्म इजरायली आक्रमणबाट १९६ जना मानवीय सहायताकर्मी मारिइसकेको बताए । उनले गाजामा तत्कालै मानवीय युद्धविराम गर्न इजरायललाई आग्रह गरेका छन् ।

वर्ल्ड किचेनले इजरायली आक्रमणबाट मारिएका व्यक्तिहरुको नाम पनि सार्वजनिक गरेको छ । मारिनेहरुमा साइफेडिन इसाम आयाद अबुताह, जोमी फ्रान्कोम, पोल डामियन सोबोल, ज्याकोब फ्लिकिन्गर, जोन च्यापम्यान, जेम्स हेन्डरसन र जेम्स कर्बी रहेका छन् ।

डब्लुसीकेका प्रमुख कार्यकारी एरिन गोरले विज्ञप्ति जारी गर्दै दिनभरको कामबाट थकित हाम्रा सहायताकर्मीमाथि इजरायलले हवाई हमला गरेर अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको बताए । उनले इजरायली सेनासँग समन्वय गरिए पनि इजरायली आक्रमण आफूहरुमाथि लक्षित रहेको जनाएका छन् ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले डब्लुसीकेमाथि भएको हमला जानाजान नभएको दाबी गरेका छन् । प्रधानमन्त्री नेतान्याहुले उक्त घटनाप्रति क्षमा समेत नमागेको बताइएको छ । यद्यपी उनले घटनाको अनुसन्धान गरिने बताए ।


प्रतिक्रिया