`

प्रधानमन्त्रीद्वारा गोरखा दरबारमा बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ प्रतिस्थापन

Nepal One HD २३ चैत २०८० १४:२३
समाचार

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातात्विक महत्वको बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ प्रतिस्थापन गरेका छन् ।

गोरखा नगरपालिकाले शुक्रबार गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रममा धातुलाई प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् ।

उनले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे । दाहालले जिल्लाको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने बताए ।

प्रहरीले गोरखा नगरपालिका– ७ सतिपिपल स्थित एक घरबाट उक्त ढुंगा गत असार १४ गते बरामद गरेको थियो । बरामदपछि खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले अध्ययन गरी क्वार्ज क्रिस्टल भएको प्रमाणित गरेका थिए ।

उक्त धातुलाई पुरातत्व विभागले पनि बहुमूल्य प्रमाणित गरेपछि गोरखा दरबारमा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेसँगै आज दाहालले गोरखा दरबारमा राखेका हुन् । उक्त धातुको तौल ५२.३३० केजी रहेको छ ।


प्रतिक्रिया