सुडानको भोकमरी विरुद्ध विश्व खाद्यकार्यक्रमको चेतावनी


संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सुडानका जनताले सबै सम्भावित मानवीय कोरिडोरमार्फत सहायताको निरन्तर प्रवाह प्राप्त नगरेमा भोकमरीको सङ्कट अझ बढ्न सक्ने चेतावनी दिएको छ ।
डब्लुएफपीका सुडानस्थित प्रतिनिधि एडी रोवले भन्नुभयो “यस्तो कमजोर अवस्थामा सुडानभरी भोकमरी कुपोषणको अकल्पनीय अवस्थाको सामना गर्नुपर्ने देखिएको छ ।”
चाडबाट मानवीय कोरिडोरको अस्थायी रोक, चलिरहेको लडाइँ, मानवीय कार्गोका लागि लामो निकासी प्रक्रियालगायतका अवरोध र सुरक्षा खतराहरूले मानवतावादीलाई सुडानमा आधारभूत खाद्यान्नको आवश्यकता पूरा गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न असम्भव बनाएको उहाँले उल्लेख गर्नुभयो ।
रोवले खाना ढुवानीको लागि सबै कोरिडोरहरू खुला रहनु पर्ने बताउदै चाडको आड्रेदेखि पश्चिम डार्फर राज्यसम्म चरम भोकमरीको अवस्था रहेको बताउनुभयो ।
विश्व खाद्य कार्यक्रम र यसका साझेदारहरूलाई तत्काल सुरक्षा ग्यारेन्टी गरी डार्फर राज्यमा खाद्य आपूर्ति गर्नमा सहजता ल्याई अति समस्यामा परेका व्यक्तिलाई खाद्यान्न वितरण गर्न सकिने उहाँले बताउनुभयो ।
विश्व खाद्य कार्यक्रमले डार्फरमा अति आवश्यक खाद्यान्न र पोषण आपूर्ति कार्यक्रम पु¥याएको छ ।
उत्तर, पश्चिम र मध्य डार्फरमा तीव्र भोकमरीको सामना गरिरहेका करिब दुई लाख ५० हजार मानिसहरूका लागि खाना र पोषण सहायता बोकेका दुईवटा मालबहाक गाडी मार्चको अन्त्यमा चाडबाट डार्फरतर्फ सीमा पार गरेका थिए ।
सुडानी बन्दरगाहका अधिकारीहरूले फेब्रुअरीमा चाडबाट मानवीय कोरिडोर अनुमति रद्द गरेपछि यी मार्गहरू पुनः खोली लामो वार्तापछि डार्फर पुग्ने विश्व खाद्य कार्यक्रम सहयोगको यो पहिलो सीमापार प्रयास हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानको आधा जनसङ्ख्या, लगभग दुई करोड ५० लाख मानिसहरूलाई मानवीय सहायता र सुरक्षा चाहिन्छ । लगभग एक करोड ८० लाख मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
सन् २०२३ अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक बलहरूबीच हिंसात्मक टकरावको सामना सुडानले गरेको छ । यसको परिणामस्वरूप ६३ लाख आन्तरिकसहित लगभग ८१ लाख व्यक्तिहरू विस्थापित भएका छन् ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले मार्चमा दिएको प्रतिवेदनमा द्वन्द्वले लगभग १३ हजार नौ सयको ज्यान लिएको जनाएको छ ।