गाजा युद्धको ६ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास


दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको छ ।
सबैभन्दा रक्तपातपूर्ण गाजा युद्धको छ महिनापछि कतार, इजिप्ट र अमेरिकाका मध्यस्थकर्ताहरूले अर्को अस्थायी युद्धविरामको प्रस्ताव राखेको हमासको एक स्रोतले बताएको छ । तीन भागको प्रस्तावले इजराइलमा प्यालेस्टिनी कैदीहरूका लागि हमासले कब्जामा राखेका बन्धकहरूको आदानप्रदानको सुविधा प्रदान गर्न छ साताका लागि लडाइँ रोक्नेछ ।
मध्यस्थकर्ताहरूको प्रयासको ‘प्रशंसा’ गर्दै हमासले मङ्गलबार वार्ताका क्रममा इजराइलमाथि आफ्नो कुनै पनि मागको जवाफ नदिएको आरोप लगाएको छ । “यस्तो अवस्था भए पनि आन्दोलनको नेतृत्वले प्रस्तावको अध्ययन गरिरहेको छ”, हमासले विज्ञप्तिमा भनेको छ ।
महिनौँको भीषण लडाइँपछि इजराइलले सप्ताहन्तमा दक्षिणी सहर खान युनिसबाट आफ्नो सेना हटाएको घोषणा गरेको छ । रफाहमा घुसपैठसहित युद्धको अर्को चरणको तयारीमा सैनिकहरूलाई मद्दत होस् भनेर सेना हटाएको उसले बताएको छ ।
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार अब गाजा क्षेत्रको सबैभन्दा दक्षिणी सहरमा स्थल सेना पठाउने मिति तय गरिएको बताउनुभएको थियो । उक्त सहरमा अधिकांश विस्थापित प्यालेस्टिनी बस्छन् ।
विदेशी शक्ति र मानवतावादी समूहहरूले ठूलो मात्रामा नागरिक हताहत हुने डरका कारण उक्त सहरमा कुनै अभियान सञ्चालन नगर्न इजराइलसँग आग्रह गरेका छन् । यद्यपि नेतान्याहु र उहाँका सैन्य कमान्डरहरूले त्यसो नगरे हमासमाथि विजय हासिल गर्न नसकिने बताएका छन् ।
“कारवाही हुनेछ, तारिख १ हो, यसमा समय निर्दिष्ट गरिएको छैन”, नेतान्याहुले भने । जवाफमा इजराइलको मुख्य समर्थक अमेरिकाले रफाह अपरेसनप्रति आफ्नो आपत्ति दोहोर्याउँदै यसले ‘अन्ततः इजराइलको सुरक्षालाई क्षति पुर्याउने’ बताएको छ । इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले गाजामा हमला जारी राखिने बताए पनि यसलाई ‘युद्धविरामका लागि सही समय’ भनेका थिए ।
इजराइलमाथि आफ्नो युद्ध रोक्न र भोकमरीको क्षेत्रमा थप मानवीय सहायताको अनुमति दिन व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गर्नुपरिरहेका बेला सेनाको फिर्ती भएको हो ।
अक्टोबर ७ को हमलापछि युद्ध सुरु भयो र इजराइली नाकाबन्दीले गाजाबासी खाना, पानी र अन्य आधारभूत आपूर्तिबाट वञ्चित भएका छन् । सहायता वितरणबाट चरम अभावलाई न्यूनरूपमा कम गरिएको छ । मानवतावादी समूहहरूले आपूर्तिको कमीबाट आसन्न ‘मानव निर्मित’ अनिकाललाई रोक्न नसकिने चेतावनी दिएका छन् ।
गाजा क्षेत्रमा सहायता प्रवाहको व्यवस्थापन गर्ने इजराइली संस्था सिओजिएटीका अनुसार सोमबार चार सय १९ ट्रकलाई गाजा क्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको छ । यो युद्ध सुरु भएपछि एक दिनमा सबैभन्दा ठूलो प्रवेश अनुमति हो ।