आगामी तीन दिन भारी वर्षाको चेतावनी, बाढी-पहिरोको जोखिम बढ्ने
काठमाडाैं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
शनिबार बिहान सार्वजनिक गरिएको मौसम बुलेटिनअनुसार मनसुनी वायुको प्रभाव कायम रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रही नेपालको तराई भूभाग आसपास तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले देशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ।
शनिबार राति देशका पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
आइतबार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ भने मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
सोमबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सोमबार राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यसबाट जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम सूचनामा अद्यावधिक रहन अनुरोध गरिएको छ।
