`

नागढुङ्गा सुरुङको काम सकिन लागेको हो ?

Nepal One HD ३० चैत २०८० ९:३४
समाचार

केही साता पहिले झन्डै एक महिनासम्म अवरुद्ध भएको नागढुङ्गास्थित मूल सुरुङ छिचोल्ने काम वैशाखको पहिलो साताका लागि तय भएको अधिकारीहरूले बताएका छन्।

त्रिभुवन राजपथमा निर्माण भइरहेको नागढुङ्गा सुरुङ परियोजना अन्तर्गत मूल सुरुङ छिचोल्ने काम वैशाख ३ गतेका लागि तय भएको अधिकारीहरूले बताएका छन्।

कुल २,६८८ मिटर लामो उक्त सुरुङ छिचोल्ने लक्ष्य मार्चको पहिलो साताका लागि नै तय गरिएको थियो।तर स्थानीय समुदायले केही मागहरू राख्दै एक महिनासम्म निर्माण कार्यमा अवरोध पुर्‍याएपछि मूल सुरुङ खन्ने काममा सम्पन्न गर्ने मिति सरेको थियो।

उक्त परियोजनाका एक जना अधिकारीले मूल सुरुङ अन्तर्गत अब २ मिटर मात्रै छिचोल्न बाँकी रहेको उल्लेख गर्दै अन्तिम चरणका कामहरू भइरहेको बीबीसीलाई बताए।

कति प्रगति भयो, अब के हुन्छ?
सन् २०१६ मा जापान सरकारसँग १६.८ अर्ब रुपैयाँ ऋण लिएर नेपाल सरकारले अघि बढाएको यो परियोजना अन्तर्गत सुरुङ निर्माणसहितका काममा ११ अर्ब रुपियाँ जति खर्च भइसकेको अधिकारीहरू बताउँछन्।

नागढुङा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले वैशाख ३ गते सुरुङ छिचोल्ने लक्ष्य राखिएको बताए।

उनले भने, “ब्रेक थ्रु गर्नलाई अब २ मिटर मात्रै बाँकी रहेको छ। हामीले अन्तिम चरणका कामहरू गरिरहेका छौँ। त्यसबेलासम्म सुरुङ आरपार खन्ने काम भइसक्छ।”

कुल लागत २२ अर्ब रुपैयाँ रहेको यो परियोजना अन्तर्गत ६ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको अधिकारीहरू बताउँछन्।

त्रिभुवन राजपथअन्तर्गत धादिङको सिस्ने खोलाबाट सुरु भएर काठमाण्डूको चन्द्रागिरीस्थित किसिपिडिमा निर्माण भइरहेको उक्त सुरुङ मार्गको सन् २०२४ को एप्रिलमा निर्माण कार्य सम्पन्न गर्ने संशोधित लक्ष्य तय भएको थियो।

तर नागढुङा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले मूल सुरुङ छिचोल्ने काम सम्पन्न भएपछि पनि बाँकी कामहरू सम्पन्न भइसक्न एकदेखि डेढ वर्षसम्म लाग्ने बताए।

उनले भने, “ब्रेक थ्रु भइसकेपछि हामीले सडक ढलान गर्ने काम गर्छौँ। सुरुङभित्र ढलान गर्ने काम हुन्छ जसलाई हामी टनल लाइनिङ भन्ने गर्छौँ। सुरक्षा उपकरण, भेन्टिलेसन र बत्तीहरू जडान गर्ने काम बाँकी रहन्छ।”

मूल सुरुङबाहेक सो सुरुङमार्गमा आपत्कालीन उद्धारमा प्रयोग हुने २५ सय ५७ मिटर लामो सहायक सुरुङ पनि रहनेछ। त्यसलाई खन्ने काम गएको वर्ष नै सम्पन्न भएको अधिकारीहरूले बताएका छन्।

यही मार्च महिनाको ६ तारिखमा २,६८८ मिटर लामो मूल सुरुङ खन्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि स्थानीय बासिन्दाले महिना दिनसम्म गरेको आन्दोलनका कारण त्यो काम ढिलो भएको हो।

४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सन् २०१९ मा ठेक्का लगाइएको उक्त परियोजनाको निर्माण सम्पन्न हुने मिति दुई पटक थप भइसकेको छ।बीबीसी


प्रतिक्रिया