‘शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार्नुपर्छ’: मन्त्री चौधरी
काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भावी शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा आयोजित दुर्गा दाहालको ७२औँ जन्मजन्ती समारोहमा मन्त्री चौधरीले बालमैत्री पाठ्यक्रम र योग्य शिक्षकबाट शिक्षामा परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो ।
धनकुटाको चौबिसे गाउँपालिका–३ का दुर्गा दाहाल शिक्षक, समाजसेवी र सहकारी अभियानकर्मी भएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा मन्त्री चौधरीले दाहालले समाजमा दिएको योगदानको चर्चा गर्नुभयो । “दाहाल जस्ता थुप्रै सकारात्मक सोच भएका व्यक्तिको जीवनीबाट समाजमा थप असल काम गर्न हौसला मिल्छ”, उहाँले भन्नुभयो ।
दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले सो कार्यक्रममा मानवशास्त्री एवं प्रा डा डम्बर चेम्जोङलाई सम्मान गरेको थियो । मन्त्री चौधरीले उहाँलाई ताम्रपत्र, दोसल्ला र रु १० हजार नगदसहित सम्मान गर्नुभयो । सम्मानित व्यक्तित्व चेम्जोङले २०३५ सालदेखि शिक्षा सेवामा लागेको र दुर्गा दाहालको अभिभावकत्वमा काम गर्न पाएको सो अवसरमा आफ्नो अनुभव सुनाउनुभयो ।
“त्यतिबेला शिक्षाको स्थिति अत्यन्त नाजुक थियो”, उहाँले बाल्यकालको शिक्षा स्मरण गर्दै भन्नुभयो, “शिक्षा नीति सुधार्ने आधारभूत विद्यालयबाटै हो ।” उहाँले दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिलाई सहयोग स्वरुप रु ५० हजार प्रदान गर्ने बताउनुभयो ।
राससका महाप्रबन्धक सिद्धराज राईले मित्रवत व्यवहार र उद्देश्यप्रतिको लगाव कस्तो हुनुपर्छ भन्ने कुरा दुर्गा दाहालको जीवनीले सिकाएको बताउनुभयो । “मान्छे हारेपछि थाक्छ”, उहाँले भन्नुभयो, “तर, दुर्गा दाहाल सरबाट हरेस खाने र थाक्ने शब्दै थिएन ।” सहकारीलाई व्यवस्थित गर्न धनकुटामा बैठक गरिरहेका बेला उहाँको हृदयघातबाट निधन भएको थियो । दाहालले पढाएका विद्यार्थी लोकेन्द्र याख्खाले किताबी ज्ञानसँगै नैतिक शिक्षा समेत उहाँबाट प्राप्त गरेको स्मरण गर्नुभयो ।
