`

लागुऔषध कारोबारको उच्च जोखिममा बाँके

Nepal One HD ४ जेठ २०८१ १४:१२
अपराध

नेपालगन्ज / बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको लागुऔषध दुर्व्यसनलगायतले कुलतको च्च जोखिममा रहेका युवाको सचेतनासम्बन्धी अभिमुखीकरणमा उनले सो जानकारी दिएका हुन्।

नेपालबाट भारततर्फ गाँजा, अफिमलगायत लागुऔषध तस्करी भएको र औषधि पसल तथा फार्मेसीबाट (चिकित्सकको प्रेप्किप्सनबिना) औषधि वितरणले लागुऔषधको जोखिम बढाएको उनले बताए। बाँकेको ६९ किलोमिटर भारतसँग सीमासँग जोडिएको छ । प्रहरी नायब उपरीक्षक डाँगीले भने, “पछिल्लो समय नेपालगन्ज सहर लागुऔषध कारोबारको ‘ट्रान्जिट हब’ का रुपमा विकास हुँदै गएको छ ।”

सो अवसरमा सामाजिक विकासमन्त्री रत्न खत्रीले खुला सीमाबाट हुने लागुऔषधको कारोबार रोक्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । उनले लागुऔषधको कारोबार रोक्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिने जानकारी दिए । कार्यक्रममा मन्त्रालयका उपसचिव दिवाकर भण्डारीलगायतले लागुऔषध कारोबार निरुत्साहित गर्न जरुरी भएको बताए ।

बाँकेमा आर्थिक वर्ष ०८०र८१ को वैशाखसम्ममा एक सय ४६ लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएको छ । सो मुद्दा दर्ता हुँदा त्यस अवधिमा दुई सय १९ जना पक्राउ परेका छन् । उक्त आर्थिक वर्षमा आठ सय ६० दशमलव ४९६ ग्राम ब्राउन सुगर, १६ दशमलव १२३ ग्राम चरेस, नौ दशमलव ३१३ ग्राम अफिम, तीन दशमलव ३०० लिटर कोरेक्सलगायत लागुपर्दाथ प्रहरीले बरामद गरेको छ ।

आर्थिक वर्ष ०७९र८० मा एक वर्षको अवधिमा एक सय ५७ मुद्दा दर्ता भएको छ । सो अवधिमा दुई सय ३६ जना पक्राउ परेका छन् । त्यस क्रममा आठ सय ८२ ग्राम ब्राउनसुगर र छ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

जिल्लामा आर्थिक वर्ष ०७८र७९ मा एक सय ३४ लागुऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । सो अवधिमा दुई सय १२ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७७र७८ मा एक सय २६ मुद्दा दर्ता भएको र एक सय ९६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । दुवै आर्थिक वर्षमा ठूलो मात्रामा प्रहरीले लागुऔषध बरामद गरेको छ ।


प्रतिक्रिया