विश्वकप खेल्न नपाउँदैमा सन्दीपको करियर समाप्त हुँदैनः अध्यक्ष चन्द


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आफूहरूले निकै प्रयास गर्दा पनि क्रिकेटर सन्दीप लामिछानेले भिसा पाउन नसकेको बताएका छन् । बिहीबार राति सामाजिक संजालमार्फत अध्यक्ष चन्दले यसपटक विश्वकपमा सहभागी हुन नपाउँदैमा सन्दीपको करिअर नसकिने बताएका छन् ।
उनले भनेका छन्, ‘सन्दीपजस्तो बहुप्रतिभाशाली खेलाडी, जसका कारणले पनि आज हामी विश्वकप खेल्दै छौँ । स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दुःखी छौँ । तर यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करिअर समाप्त हुनेछ न नेपालको क्रिकेट, सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु ।’
अध्यक्ष चन्दले सामाजिक संजालमा यस्तो लेखेका छन्ः
सन्दीपको भिसा सम्बन्धमा सस्तो लोकप्रियताका लागि ‘हाइतौबा’ गर्ने केही मिडियाकर्मीलाई स्मरण रहोस् । सन्दीपलाई आरोप लागेको बेला र ऊ एक्लो परेको अवस्थामा यहाँहरु को के कस्तो भूमिका थियो स्मरण गरिदिनुस् । सन्दीपलाई न्यायका लागि क्यान अध्यक्ष मात्र नभई एउटा अभिभावक रूपमा मैले आफ्नो ‘करियर’ समेत को प्रवाह नगरी विभिन्न दवाव, प्रभाव र आक्रमणहरुको सामना गर्दै खेलेको प्रत्यक्ष र ‘अप्रत्यक्ष’ भूमिकाको कहिले स्वागत गर्नु भएको थियो कि ? स्मरण गरिदिनुस् । भिसा प्राप्तीका लागि क्यानले गरेको हदैसम्मको आन्तरिक प्रयास, आइसीसीले पठाएका पत्रहरु, सरकारले गर्न खोजेको सहयोग लगायतका सबै आन्तरिक कुराहरु केही सस्तो लोकप्रियता खोज्ने मिडियाकर्मीहरुका लागि सार्वजनिक गर्नुपर्छ जस्तो लाग्दैन ।
सन्दीप जस्तो बहुप्रतिभाशाली खेलाडी जसका कारणले पनि आज हामी विश्वकप खेल्दै छौं स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दुःखी छौं तर यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करियर समाप्त हुनेछ न नेपालको क्रिकेट, सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु । नेपाल क्रिकेट संघको अध्यक्षका साथै नेपाली कांग्रेस बैतडीको सभापति भनेरै लेखिराख्नु हुने साथीहरूका लागि पुनः स्मरण रहोस् म बैतडी कांग्रेसको निर्वाचित सभापति नै हो जसका लागि म गौरव गर्दछु ।आइसीसी विश्कपमा सहभागी देशको क्रिकेट संघको प्रमुख त्यो पनि आइसीसीको निमन्त्रणामा उपस्थित भएर मैले अन्यथा गरेको छु जस्तो लाग्दैन । धन्यवाद, नमस्कार ।