`

क्यानडालाई ८ विकेटले हराउँदै विश्वकपमा आयोजक अमेरिकाको विजयी शुरुवात

Nepal One HD २० जेठ २०८१ १०:०३
खेलकुद

काठमाडौं । आईसीसी टि-२० विश्वकपमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान भएको उद्घाटन खेलमा क्यानडालाई ८ विकेटले हराउँदै अमेरिकाले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

जितको लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ९७ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । अमेरिकाको लागि एरोन जोन्सले सर्वाधिक ९४ रन बनाए । उनले ४० बलमा १० छक्का र ४ चौकाको मद्द्तमा ९४ रन बनाए । यस्तै एन्ड्रेस गोउसले ६५ र मोनाक पटेलले १६ रन बनाए ।

क्यानडाको लागि कलिम साना, डिलोर हाइलिगर र निखिल दत्तले समान एक/एक विकेट लिए ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ६१ रन जोडे । यस्तै निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५,श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रन बनाएका थिए ।

बलिङतर्फ अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एक/एक विकेट लिए । जितसँगै अमेरिकाले दुई अङ्क जोडेको छ ।


प्रतिक्रिया