पाकिस्तानी प्रधानमन्त्री सरिफद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई


पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले लगातार तेस्रो कार्यकालका लागि शपथ लिनुभएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिनुभएको छ । पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत् विजयको लागि बधाई तथा नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिनुभएको हो ।
नरेन्द्र मोदी र उहाँको मन्त्रीमण्डलका सदस्यले आइतबार नै शपथ लिएका थिए । राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा भारतको छिमेकी र हिन्द महासागर क्षेत्रका नेताहरू उपस्थित भएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको प्रधानमन्त्रीको रूपमा फेब्रुअरीमा दोस्रो पटक शपथ लिएपछि शाहबाज सरिफलाई बधाई दिनुभएको थियो भने शाहबाजले बधाईका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियोे । शाहबाज सरिफ पाकिस्तानको २४ औँ प्रधानमन्त्री हुनुहुन्छ ।