भारतको पश्चिम बङ्गालमा एभियन इन्फ्लुएन्जाको प्रकोपको कुनै खतरा छैन : स्वास्थ्य अधिकारी


भारतको पूर्वी राज्य पश्चिम बङ्गालका स्वास्थ्य अधिकारीहरूले शुक्रबार राज्यमा एभियन इन्फ्लुएन्जा वा बर्ड फ्लूको प्रकोपको कुनै खतरा नरहेको बताएका छन् ।
“त्यहाँ आत्तिनुपर्ने कुनै कारण छैन र मानिस वा चराबाट मानिसमा सर्ने कुनै पनि नयाँ घटना देखिएको छैन”, उनीहरूले भनेका छन् । अधिकारीहरूले कुखुरा, अण्डा र हाँसको मासु जस्ता कुखुरा उत्पादनहरूको उपभोगमा कुनै प्रतिबन्ध नभएको पनि स्पष्ट पारेका छन् ।
स्वास्थ्य विभागका अनुसार मालदा जिल्लाको कालियाचकका एक बच्चालाई जनवरीमा एभियन इन्फ्लुएन्जा पत्ता लागेको र उपचारपछि निको भएको थियो । केसहरू पत्ता लागेपछि स्वास्थ्य विभागले परिवारका सदस्यहरू र अन्य व्यक्तिहरूको सक्रिय निगरानी गरेको थियो र कसैमा पनि भाइरसको सङ्क्रमण देखापरेन ।
यस हप्ताको सुरुमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पश्चिम बङ्गालमा बर्ड फ्लूको एक मानव केसको पुष्टि ग¥यो । विश्व स्वास्थ्य निकायका अनुसार पश्चिम बङ्गालका चार वर्षीय बालकमा ‘एच–९एन–२’ भाइरसबाट हुने बर्ड फ्लुबाट मानिसमा सङ्क्रमण देखिएको हो ।
बच्चा निको भएको छ र तीन महिनाको निदान र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।सन् २०१९ मा पहिलो पटक भारतबाट डब्लुएचओलाई सूचित गरिएको एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो ।