राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्चः मन्त्री सुडी
पाटन (ललितपुर) – वन तथा वातावरणमन्त्री नवलकिशोर शाह सुडीले प्रकृतिमा आधारित समाधानमार्फत पारिस्थितिकीय प्रणाली पुनःस्थापनाका लागि राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्च भएको धारणा राख्नुभएको छ ।
‘प्रकृतिमा आधारित समाधानमार्फत पारिस्थितिकीय प्रणाली पुनःस्थापना’ नाराका साथ बिहिबारदेखि ललितपुरमा सुरु तीन दिवसीय राष्ट्रिय संरक्षण फोरमको उद्घाटनका अवसरमा मन्त्री सुडीले साझेदारसँगको अथक प्रयासबाट परिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न सकिने बताउनुभयो ।
जैविक विविधता केबल एक देशको राष्ट्रिय सन्तुलनका लागि नभएको उल्लेख गर्नुहुँदै यसको संरक्षणमा सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तन, वनविनाश र अनियन्त्रित वन्यजन्तु सिकार नेपालको जैविक विविधता संरक्षणका लागि चुनौतीको विषय भएको र यसले हाम्रो संरक्षण प्रयासमा धेरै चुनौती थपिएको उल्लेख गर्नुभयो । नेपालका जैविक विविधता संरक्षणका चुनौतीलाई समाधान गर्दै तत्काल संरक्षण प्रयासका कदम चाल्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँले जैविक विविधताको संरक्षण गर्दै प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गर्न र संरक्षणमा देखिएका चुनौती सामना गर्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिनुभयो । नेपालले जैविक विविधता संरक्षणका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धता जनाएको उल्लेख गर्नुहुँदै उहाँले संरक्षणसँगै मुलुक र जनताका हितमा प्राकृतिक स्रोत र साधनको उपयोग गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य डा जुद्धबहादुर गुरुङले संरक्षण अभियानमा सबै सङ्घसंस्थाको प्रयास रहेको बताउनुभयो । “कार्बन उत्सर्जनले प्राकृतिक पारिस्थितिकीय प्रणालीमा समस्या सिर्जना गरेको छ, नेपालका सन्दर्भमा जलवायु परिवर्तनको असरबाट हिमाल पग्लिने अवस्थामा छ, यसका लागि हामीले संरक्षण गर्नेगरी नीति तथा योजना बनाउन सक्नुपर्छ”, उहाँले भन्नुभयो ।
प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले प्रकृतिको संरक्षणबाट नै मानव सभ्यताको संरक्षण हुने बताउनुभयो । उहाँले विकासका नाममा मानिसले वातावरण बिगार्दा समस्या निम्तिएको उल्लेख गर्नुहुँदै मानिसको रचनात्मक विध्वंसले प्रकृतिको पारिस्थितिकीय प्रणाली समस्या सिर्जना गरेको बताउनुभयो ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले यस सम्मेलनबाट थाइल्यान्डको बैंककमा हुने आगामी सम्मेलनका लागि सुझावका रुपमा महत्त्वपूर्ण विषय उठान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले पानीको स्रोत घट्दै गएको र वातावरण प्रदूषित हुँदै गएकाले सन् २०५० सम्म हिमाल पग्लिएर ‘इको सिस्टम’मा समस्या आउनसक्नेमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले वातावरणीय अनुकूलन कायम राख्नका लागि संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
