युरोकपमा स्पेन र जर्मनी तथा पोर्चुगल र फ्रान्स भिड्दै


काठमाडौं । युईएफए युरोकप फूटबल अन्तर्गत आजबाट क्वाटरफाइनलको खेलहरु शुरु हुँदैछ । आज हुने पहिलो खेलमा आयोजक जर्मनी र स्पेन भिड्दैछन् । स्टुटगार्ट एरिनामा हुने खेल राति ९:४५ बजे शुरु हुनेछ ।
दुवै टोली आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । स्पेन अन्तिम १६ मा जोर्जियालाई ४-१ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो भने जर्मनीले डेनमार्कलाई २-० गोलले हराएको थियो । दुवै टोली प्रतियोगितामा अपराजित रहेका छन् ।
यस्तै आजै हुने दोस्रो क्वाटरफाइनल खेलमा पोर्चुगल र फ्रान्स भिड्दैछन् । भोल्स्पार्क स्टाडियोनमा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ ।
फ्रान्स आजको खेलमा बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ । यसअघि सन् २०१६ मा घरेलु मैदानमा भएको युरोकपको फाइनल खेलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । फ्रान्सले अन्तिम १६ मा बेल्जियमलाई १-० गोलले हराएको थियो भने पोर्चुगलले पेनाल्टी सुटआउटमा स्लोभेनियालाई ३-० गोलले हराएको थियो ।
दुई टोलीबीच भएको पछिल्लो ७ भेटमा फ्रान्स ४ खेलमा विजयी हुँदा पोर्चुगलले मात्र एक खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको थियो ।