काभा महिला भलिबल उपविजेता टोलीलाई नगदसहित काठमाडौँ महानगरपालिकाको सम्मान


काठमाडौँ । ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ ।
खेल सकिएको भोलिपल्ट बिहीबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको हो ।
सम्मान प्रदान गर्दै महानगरका मेयर बालेन साहले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही एक लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् ।
खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट छन् ।
मेयर साहले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न कम ध्यान गएको भन्दै यसतर्फ ध्यानाकर्षण भएको बताए । सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे ।
‘सन् २०१७ मा स्थापना भएको मध्य एशियाली भलिवल एशोसिएसनको पहिलो वर्षमा नेपालले स्वर्ण पदक हासिल गरेको थियो । महानगरपालिकाको सहयोगबाट हामी त्यो स्थानका लागि प्रयत्न गर्नेछौँ ।’ भट्टको भनाइ थियो । काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएको थियो ।







