`

पाकिस्तानको इन्टरनेट सेवामा आएको समस्याको अधिकारकर्मी र व्यापारीद्वारा आलोचना

Nepal One HD २ भदौ २०८१ २०:४२
विश्व

पाकिस्तान सरकारले आफूप्रतिको असहमति दमन गर्न नयाँ नियन्त्रणको परीक्षण गर्दा इन्टरनेट सेवा र सामाजिक सञ्जालको गति सुस्त भएको र यसले देशको आर्थिक सुधार जोखिममा परेको देशका अधिकारकर्मी र व्यापारीहरुले जनाएका छन् ।

जुलाईदेखि इन्टरनेटको गति सामान्य भन्दा ४० प्रतिशत सुस्त भएको एक आईटी एसोसिएसनले जनाएको छ ।

डिजिटल अधिकार विज्ञहरुले राज्यले ’फायरवाल’को परीक्षण गरिरहेकाले इन्टरनेटको गति सुस्त भएको आशङ्का व्यक्त गरेका छन् । फायरवाल यस्तो सुरक्षा प्रणाली हो जसले ’नेटवर्क ट्राफिक’लाई निगरानी गर्दछ र यो ‘अनलाइन स्पेस’ नियन्त्रण गर्न पनि प्रयोग गर्न सकिन्छ ।

“राज्यले राजनीतिक असहमतिप्रति निगरानी बढाउने र त्यस्ता असहमतीमाथि प्रतिबन्ध लगाउने उद्देश्यले फायरवाल र सामग्री फिल्टरिंगजस्ता प्रणालीको परिक्षण गर्दा इन्टरनेटको गति सुस्त भएको हो”, डिजिटल अधिकार विशेषज्ञ र कार्यकर्ता उसामा खिलजीले बताउनुभयो ।

‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ क्षमताको कारण देशको लाखौँ मानिसले प्रयोग गर्ने सामाजिक सञ्जाल व्हाट्सएपमा बढी सम्स्या आएको अधिकारीहरुले बताएका छन् ‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ ले प्रयोगकर्ताहरूलाई कुनै तेस्रो–पक्षद्वारा पहुँच नगरी सुरक्षित रूपमा जानकारी साझा गर्न सक्षम बनाउँछ ।

विश्लेषकका अनुसार सेना समर्थित सरकार र सेवानिवृत्त जनरलद्वारा सञ्चालित दूरसञ्चार प्राधिकरणले हप्तौँसम्म इन्टरनेट सुविधामा आएको समस्याबारे कुनै जानकारी गराएको थिएन ।

अन्ततः रक्षामन्त्रीले ख्वाजा मुहम्मद आसिफले यस विषयमा बोल्दै देश एउटा परिवर्तनबाट गुज्रिरहेका र त्यसको समाधानपछि यी सबै सुविधाहरू उपलब्ध हुने जानकारी गराउनुभयो । “तर राज्य र व्यक्तिहरू विरुद्ध धम्की दिने र मानहानिकारक सामग्री रोक्न केही नियन्त्रणहरू हुनेछन्”, उहाँले भन्नुभयो ।

यस सन्दर्भमा आलोचना बढ्दै जादाँ सूचना प्रविधिमन्त्री साजा फातिमा ख्वाजाले आइतबाट इन्टरनेटको गति सुस्त हुनुमा सरकारको कुनै संलग्नता नरहेको बताउनुभयो ।

“देशको ठुलो जनसङ्ख्याले ’भिपिएन’हरू प्रयोग गर्न थालेका छन् । भिपिएनको प्रयोगले प्रत्यक्ष रुपमा इन्टरनेटमा दबाब सिर्जना गर्दछ र यसको गतिलाई सुस्त बनाउछ”, उहाँले एक पत्रकार सम्मेलनमार्फत बताउनुभयो ।

पाकिस्तानको दूरसञ्चार प्राधिकरणले भने यस विषयमा कुनै टिप्पणी गर्न अस्विकार गरेको छ ।


प्रतिक्रिया