एभरेष्ट महिला भलिबल लिग : काजकिस्तानकी कालिनोभाले मधेश युनाईटेडबाट खेल्ने


काठमाडौं । काजकिस्तानकी भलिबल खेलाडी कालिनोभा यभजेनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) मधेश युनाइटेडबाट खेल्ने भएकी छन् ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक नेपालमा महिला भलिबलको फ्रेन्चाईज लिग आयोजना हुँदैछ । त्यसका लागि मधेश युनाइटेडले मंगलबार आफ्नो पहिलो विदेशी खेलाडीको घोषणा गरेको हो ।
‘काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईेटेडबाट खेल्नेछिन् । उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ ।’ मधेश युनाइटेडले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।
३५ वर्षिय स्पाईकर कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ ।
कालिनोभाले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न उत्साहित रहेको बताईन् । ‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु । मधेश युनाईटेडबाट खेल्दैछु । हाम्रो टिमलाई समर्थन गर्नुहोला ।’
मधेश युनाईटेडकी अपरेसन हेड सांज्ञा श्रेष्ठले कालिनोमालाई मधेश टिममा स्वागत गर्दै उनको अनुभवले टिमको लागि धेरै फाईदा पुग्ने बताईन् ।
मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् । यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन् ।
यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन् । पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको आधिकारिक मिति केही समयपछि घोषणा हुने आयोजकले जनाएको छ ।