`

एमाले सचिवालय : वार्षिक कार्ययोजनामाथि छलफल

Nepal One HD १३ भदौ २०८१ १९:३४
राजनीति

काठमाडौँ, १३ भदौ : नेकपा (एमाले) ले पार्टीको नयाँ वार्षिक कार्ययोजनाको तयार पारेको छ । आज ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले पार्टीको यस आर्थिक वर्षका लागि तयार गरिएको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल सुरु गरिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आजको बैठकमा सचिवालय सदस्यले मस्यौदामाथि सुझाव दिनुभयो । उहाँले मस्यौदालाई आगामी बस्ने पोलिटब्युरो बैठकले अन्तिम रुप दिने बताउनुभयो । उहाँका अनुसार पोलिटब्युरो बैठक यही भदौ १८ र १९ गते पोलिटब्युरो बैठक केन्द्रीय कार्यालयमा राखिएको छ ।

“बैठकमा पार्टीको वार्षिक कार्ययोजना मस्यौदा प्रस्तुत गरिएको छ । बैठकमा प्राप्त सुझावलाई समेटर आगामी बस्ने पोलिटब्युरो बैठकबाट अन्तिम रुप दिइने छ”, उहाँले भन्नुभयो ।

कार्ययोजनामा प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने, सदस्यता विस्तार गर्ने, नवीकरणको कामलाई प्रभावकारी बनाइने, बाँकी रहेका जिल्ला र पालिका अधिवेशनलाई व्यवस्थित गर्ने कुरा उल्लेख गरिएका छन् ।

पार्टी प्रवेश र जिम्मेवारीविहीन भएका नेता तथा कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कार्ययोजनामा उल्लेख गरिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । हरेक कमिटीले नेता तथा कार्यकर्ताको मूल्याङ्कन गर्ने कुरा समेटिएको छ ।

कार्ययोजनामा केन्द्रमा एउटा स्थायी रुपमा पार्टी स्कुल र प्रदेश तहमा सात वटा स्थायी स्कुल राख्ने उल्लेख छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कुलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको उहाँले बताउनुभयो ।

बैठकले पार्टी स्थापना ७५ वर्ष पूरा गरेको अवसरमा बाँकी रहेका कुरालाई पनि वार्षिक कार्ययोजनामा समेटिएको छ । पार्टीको इतिहास, आन्दोलनका विभिन्न घटनाको अभिलेख लेख्ने र पुस्तक पार्टीको सेल्टर प्रकाशन गर्नेजस्ता कुरा कार्ययोजनामा समेटिएका छन् । बैठकले पार्टीको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टीका पूर्वउपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको प्रथम स्मृतिमा भदौ २६ गते मनाउने निर्णय गरेको छ ।

बैठकले नयाँ सरकार बनेसँग सरकारी र निजी क्षेत्रमा सकारात्मक देखिएको सन्देश गएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । उहाँले लगानीमा व्यावसायिक क्षेत्र आशावादी र भरोसा बढ्दै गएको बताउनुभयो । लामो समयदेखि अल्झिएको सङ्क्रमणकालीन न्याय टुङ्गिने प्रक्रिया रहेको र यसलाई पार्टीले कोशेढुङगाको रुपमा लिएको उहाँले बताउनुभयो ।

अहिलेको सरकारले सरकार सञ्चालन र प्रशासनमा आशाको भरोसा बढाएको र सरकारले अझ गतिका साथ काम अगाडि बढाउनुपर्ने बैठकले निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । संसद्मा रहेका दलले सत्ताबाट बाहिरिसँगै आवेशपूर्ण प्रतिक्रिया दिन थालेकोप्रति ध्यानाकर्षण भएको पार्टीले जनाएको छ ।

“मुलुक असहज अवस्थामा रहेको र यसलाई सहज तुल्याउँदै जाने कुरा सबै राजनीतिक दलको जिम्मेवारी रहेको छ”, उहाँले भन्नुभयो, “मुलुकको संवेदनशीलबारे गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिलाई कसैले पनि बढावा दिनहुन्न ।” प्राकृतिक विपत्ति परेर ज्यान गुमाएको श्रद्धाञ्जली व्यक्त गर्नुको साथै घाइतेको शीघ्र स्वास्थ्यको कामना बैठकले गरेको छ । बैठकले विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै बैठकले सडक दुर्घटना र हवाई दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै सरकारले सडक र हवाई दुर्घटना न्यूनीकरणलाई विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।


प्रतिक्रिया