रुसको भ्रमण सम्पन्न गरी अध्यक्ष नेपाल स्वदेश फिर्ता
काठमाडौँ, २२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुग्नुभएको थियो ।
रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ यही भदौ १६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । यही भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको सम्मेलनमा अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा भाग लिनुभएको थियो ।
त्यस अवसरमा अध्यक्ष नेपालले चीन, रुसलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरूसँग भेटघाट तथा आपसी हितका बारेमा छलफल गर्नुभएको थियो । अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको जनाइएको छ ।
