`

ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता

Nepal One HD १२ असोज २०८१ १०:१६
प्रमुख खबर

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना  बेपत्ता भएका छन् ।


सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ ।


काठमाडौँका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित

लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । 


काठमाडाँैको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


पहिराका कारण विभिन्न नाका हुँदै काठमाडौँ भित्रने र बाहिरने सवारीसाधन पनि चल्न सकेका छैनन् । नागढुङ्गा–नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली–तीनपिप्ले र कान्ति लोकपथ अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । 


पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारीसाधन पनि रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया