`

बिपी राजमार्ग दसैंअघि पूर्णरुपमा संचालनमा नआउने

Nepal One HD १७ असोज २०८१ १७:२३
प्रमुख खबर

काठमाडौं । दसैंअघि बिपी राजमार्ग पूर्णरुपमा संचालनमा नआउने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बिहीबार पत्रकार सम्मेलन गरी बिपी राजमार्ग कल्पना गरेको भन्दा धेरै क्षति भएकाले दसैंअघि पूर्णरुपमा संचालनमा ल्याउन सक्ने अवस्था नरहेको बताएका हुन् ।

राजमार्गको चौकी डाँडादेखि कालढुंगा खण्डमा बाढीका कारण सडक नै बगाएको छ । पत्रकार सम्मेलनमा मन्त्री दाहालले भने, उनले भने, ‘बिपी राजमार्ग यति धेरै क्षति हुने कुरा कल्पना पनि गरेका थिएनौं । काठमाडौंलाई जोड्ने दुईवटा सडकहरु जुन छन् यीनिहरुलाई प्राथमिकता दिएर नै अगाडि बढेका छौं ।’

मन्त्रालयले बाढीका कारणबीच बाटोमा फसेका सवारीसाधानलाई निकाल्न खोला किनारमा नै अस्थायी सडक निर्माणको काम भइरहेको जनाएको छ ।

दसैंअघि उपत्यका बाहिरिने अन्य राजमार्ग सुचारु हुने मन्त्रालयले जनाएको छ । वर्षाका कारण आएको बाढीले ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव केशव कुमार शर्माले अझैसम्म पाँचवटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएकाले यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी रहेको जानकारी दिए ।

उनले हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात संचालन गर्न मात्र साढे दुईदेखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ र क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःनिर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।


प्रतिक्रिया