सत्तारुढ कांग्रेस र एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे एक करोड सहयोग


काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे ।
एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए ।
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए ।
नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, सो दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए ।

