युक्रेनमा रुसी सेनासँग लड्दा मारिएका ५०१ युक्रेनी सैनिकको शव फिर्ता पाएको किएभको भनाइ

विश्व

किएभले शुक्रबार विशेषगरी पूर्वी युक्रेनमा रुसी सेनासँग लड्दा मारिएका पाँच सय एक सैनिकको शव प्राप्त गरेको बताएको छ ।
सन् २०२२ मा रुसले आक्रमण गरेयता मस्को र किएभबीचको सहकार्यका केही क्षेत्रमध्ये कैदी र मारिएका सैन्यकर्मीहरूको शवहरूको आदानप्रदान एक रहेको छ ।
“स्वदेश फिर्ती उपायहरूको परिणामस्वरूप पाँच सय एक युक्रेनी रक्षकका शवहरू युक्रेनमा फिर्ता गरिएको छ”, युद्धबन्दीहरूको व्यवहारका लागि समन्वय मुख्यालयले विज्ञप्तिमा भनेको छ ।
यो घोषणा युद्धका सुरुआतदेखि मारिएका युक्रेनी सैनिकहरूको सबैभन्दा ठूलो स्वदेश फिर्ती मध्येको एक हो ।
मुख्यालयले अधिकांश अवशेषहरू पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गरिएको बताएको छ । फेब्रुअरीमा औद्योगिक केन्द्र अभ्दिभ्किाको कब्जापछि रुसी सेनाले त्यहाँ लगातार अग्रता लिइरहेको छ ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सहयोगलाई स्वीकार गर्दै रक्षा बलसहित धेरै राज्य निकायले फिर्तीलाई समन्वय गर्न मद्दत गरेको मुख्यालयले बताएको छ ।
“कानून कार्यान्वयन निकायका प्रतिनिधि र फरेन्सिक विशेषज्ञहरूले पीडितहरूको पहिचान गर्नेछन्”, समन्वय केन्द्रले आफ्नो विज्ञप्तिमा भनेको छ, “पहिचानपछि हाम्रा रक्षकहरूका शवहरू उचित अन्त्येष्टिका लागि उनीहरूका परिवारलाई हस्तान्तरण गरिनेछ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट