`

युक्रेन र दक्षिण कोरियाबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति

Nepal One HD १४ कार्तिक २०८१ ८:३२
विश्व

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग रुसले युक्रेनमा आक्रमण बढाउन उत्तर कोरियाली सेना तैनाथ गरेको विषयमा छलफल भएको र दुई देशबीच सुरक्षा सहयोग सुदृढ पार्ने सहमति भएको बताउनुभएको छ ।

मस्कोको आक्रमण प्रयासलाई बलियो बनाउन हजारौं उत्तर कोरियाली सैनिकलाई रुसमा स्थानान्तरण गरेकोमा युक्रेनका सहयोगीबीच चिन्ता बढ्दै जाँदा दुई देशका शीर्ष नेताबीच टेलिफोन वार्ता भएको हो ।

“हामीले युक्रेनमा रुसी आक्रमणलाई सघाउन उत्तर कोरियाली सैन्य बलको संलग्नता बारे छलफल गर्यौं। निष्कर्ष स्पष्ट छः यो युद्ध अन्तर्राष्ट्रियकरण हुँदै गइरहेको छ, दुई देशभन्दा बाहिर फैलिएको छ”, जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।

यसैबिच राष्ट्रपति युनले उत्तर कोरियाली सेनाको स्थानान्तरणलाई अभूतपूर्व र खतरनाक भनेर वर्णन गर्नुभएको छ ।जेलेन्स्की र युनले दक्षिण कोरिया र युक्रेनले दुई देशबीचको सुरक्षा सहयोगलाई सुदृढ बनाउन एक अर्काको देशमा प्रतिनिधिमण्डल पठाउने कुरा पुष्टि गर्नुभयो ।

राष्ट्रपति युनले दक्षिण कोरियाले “युक्रेनका जनताका लागि थप सहयोगका उपायहरू खोज्न सहकार्य गर्ने र शान्तिलाई समर्थन गर्न जारी राख्ने बताउनुभएको छ । उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई आधिकारिक भ्रमणका लागि रुस आइपुग्नु भएपछि उहाँहरुबीच नेताहरूको टेलिफोन कलको खबर आएको हो ।


प्रतिक्रिया