`

एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो

Nepal One HD २३ कार्तिक २०८१ २०:३१
राजनीति

काठमाडौँ, २३ कात्तिक : नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ ।

आज यहाँ बसेको प्रदेश कमिटीको सचिवालय बैठले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुङ्गो लगाएको एमाले बागमती प्रदेशका इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारका नामलाई नै निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर, काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, हेटौँडा उपमहानगरपािलका–१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले महानगर र उपमहानगरको उपनिर्वाचनमा नगरकमिटी पहिलो उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने गर्दछ र जिल्ला कमिटीले ती नाम पुनः प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले निर्णय गर्दछ ।

यस्तै नगरपालिका र गाउँपालिकाको निर्णय भने जिल्ला कमिटी बैठकले गर्ने गर्दछ । आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।


प्रतिक्रिया