इरान संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखसँग ‘अस्पष्टताहरू’ समाधान गर्न इच्छुक


इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बिहीबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको कार्यालयमा आउनुभन्दा पहिले आफ्नो आणविक कार्यक्रमबारेमा शङ्का समाधान गर्न इच्छुक रहेको बताउनुभएको छ ।
राष्ट्रपति पेजेस्कियानले इरान भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घीय आणविक वाचडगका प्रमुख राफेल ग्रोसीलाई सो कुरा बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख ग्रोसीले गाजामा हमास र लेबनानमा हिजबुल्लाह विरुद्धको इजरायलको युद्धले पहिले नै भड्काएको क्षेत्रमा नयाँ द्वन्द्वबाट बच्न इरानसँगको आणविक वार्तामा ‘परिणाम’ प्राप्त गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँको भ्रमण इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानका आणविक सुविधाहरूमा आक्रमण गर्ने ‘अवसर’ दिइएको भनेको केही दिनपछि भएको हो ।
“हामीले बारम्बार हाम्रो सद्भावना प्रमाणित गरिसकेका छौँ, हामी हाम्रो देशको शान्तिपूर्ण आणविक गतिविधिका बारेमा कथित अस्पष्टता र शङ्का समाधान गर्न यस अन्तर्राष्ट्रिय सङ्गठनसँग सहयोग र अभिसरण गर्न हाम्रो तयारीको घोषणा गर्दछौँ”, पेजेस्कियानले ग्रोसीलाई भन्नुभयो ।
इरानप्रति कडा दृष्टिकोण राख्ने ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि इजरायललाई अझ शक्तिशाली अधिकार दिने अपेक्षा गरिएको छ ।
तेहरानमा ग्रोसीले इरानी आणविक प्रतिष्ठानहरूमा ‘आक्रमण गर्नुहुँदैन’ भन्नुभयो ।ग्रोसीसँगको भेटमा विदेशमन्त्री अब्बास अराघचीले इरान ‘राष्ट्रिय हित’ र ‘अपरिहार्य अधिकार’ का आधारमा ‘वार्ता गर्न इच्छुक’ रहेको तर ‘दबाब र धम्कीमा वार्ता गर्न तयार’ नभएको बताउनुभयो ।
अराघची सन् २०१५ मा महत्त्वपूर्ण आणविक सम्झौतामा इरानको प्रमुख वार्ताकार हुनुहुन्थ्यो । उक्त सम्झौतालाई ट्रम्पले तीन वर्षपछि त्याग्नुभएको थियो ।
– तत्काल प्रतिकार –
ग्रोसीले इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीलाई पनि भेट्नुभयो ।इस्लामीले संयुक्त पत्रकार सम्मेलनमा इरानले आइएइएको बोर्ड अफ गभर्नरबाट कुनै पनि प्रतिबन्धको विरुद्धमा ‘तत्काल प्रतिकार’ गर्ने बताउनुभयो ।
“इस्लामिक गणतन्त्र इरानको आणविक मामिलामा कुनै पनि हस्तक्षेपवादी प्रस्तावले निश्चित रूपमा तत्काल प्रतिकारको सामना गर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।
ग्रोसीको भ्रमण यस वर्ष तेहरानमा यो दोस्रो भए पनि ट्रम्पको पुनः चुनावपछि पहिलो हो ।सन् २०१७ देखि सन् २०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले ‘अधिकतम दबाब’ नामक नीति अपनाउनुभयो । यसले सन् २०१५ को सम्झौताअन्तर्गत हटाइएको अमेरिकी आर्थिक प्रतिबन्धहरूलाई पुनः लागु गर्यो ।
– समाधान खोज्न आवश्यक –
जवाफमा इरानले बिस्तारै सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता फिर्ता लिन थालेपछि ऊमाथि तीन दशमलव ६५ प्रतिशतभन्दा माथि युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइयो ।
इरानले आफ्नो युरेनियम भण्डार ६० प्रतिशतसम्म विस्तार गरेको छ । यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरको धेरै नजिक भएकाले यसले अन्तर्राष्ट्रिय चेतावनी निम्त्याएको छ ।
इरानले गतिरोधका लागि आगामी अमेरिकी राष्ट्रपतिलाई दोष दिएको छ । “सम्झौताबाट बाहिरिने व्यक्ति इरान होइन, अमेरिका थियो”, सरकारका प्रवक्ता फातेमा मोहाजेरानीले बुधबार भन्नुभयो, “श्री ट्रम्पले एक पटक अधिकतम दबाबको बाटो खोज्नुभयो र यो बाटोले काम नगरेको देख्नुभयो ।”
जनवरीमा ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले यस वर्षको सुरुमा कट्टर शत्रुहरूले अभूतपूर्व प्रत्यक्ष आक्रमणहरू आदानप्रदान गरेपछि इजरायल र इरानबीचको पूर्ण द्वन्द्वको अन्तर्राष्ट्रिय डर मात्र बढाएको छ ।
“व्यवहारका लागि मार्जिन सङ्कुचित हुन थालेको छ”, ग्रोसीले मङ्गलबार एएफपीसँगको अन्तर्वार्तामा चेतावनी दिँदै भन्नुभयो, “कूटनीतिक समाधानमा पुग्ने तरिकाहरू खोज्न आवश्यक छ ।”
– धार्मिक आदेश –
ग्रोसीले इरानसँग हाल आणविक हतियार नभएको तर धेरै समृद्ध युरेनियम रहेको भन्दै यसलाई अन्ततः एउटा आणविक हतियार बनाउन प्रयोग गर्न सकिने बताउनुभयो ।
पश्चिमसँगको सम्बन्ध सुधार गर्न र सन् २०१५ को सम्झौतालाई पुनर्जीवित गर्ने मञ्चमा पेजेस्कियानले जुलाईमा चुनाव जित्नुभएको थियो ।
तर आणविक सम्झौतालाई ‘लाइफ सपोर्ट’ बाट मुक्त गर्ने सबै प्रयास असफल भएका छन् ।
हालैका वर्षहरूमा तेहरानले आफ्नो आणविक कार्यक्रमको निगरानी गर्न प्रयोग गरिने निगरानी उपकरणहरू बन्द गरेको छ र आइएइए निरीक्षकहरूलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाएको छ ।
ग्रोसीले इरानको आणविक कार्यक्रमको ‘पूर्ण तस्वीर’ लिन शुक्रबार फोर्डो र नातान्जमा रहेको युरेनियम संवर्धन संयन्त्रको भ्रमण गर्ने बताउनुभयो ।
यस कार्यक्रमको आधार सन् १९५० को दशकको अन्त्यतिरको हो । त्यसबेला संयुक्त राज्य अमेरिकाले पश्चिमी समर्थित शाह मोहम्मद रेजा पहलवीसँग नागरिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो ।
सन् १९७० मा इरानले आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धि अनुमोदन गरेको थियो । सन्धिमा हस्ताक्षर गर्ने राष्ट्रहरूले आफ्नो आणविक सामग्रीहरू आइएइए नियन्त्रणमा घोषणा गर्न र राख्न आवश्यक छ ।
तर इरानले आफ्नो पछिल्लो क्षेप्यास्त्र आक्रमणका लागि इजरायललाई जवाफ दिने धम्की दिँदै केही सांसदहरूले आणविक बम विकास गर्न आफ्नो आणविक सिद्धान्तलाई संशोधन गर्न सरकारलाई आह्वान गरेका छन् ।
उनीहरूले इरानमा अन्तिम अधिकार राख्ने सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आफ्नो लामो समयदेखि रहेको धार्मिक आदेश वा आणविक हतियारहरू प्रतिबन्धित गर्ने फतवामा पुनर्विचार गर्न आह्वान गरेका छन् ।