असदको निष्कासनपछि इयुले दमास्कसमा दूतावास पुनः खोल्ने


युरोपेली सङ्घ (इयु) ले शासक बशर अल–असदको पतनपछि सिरियाको नयाँ नेतृत्वसँग ‘रचनात्मक’ वार्तापछि दमास्कसमा आफ्नो मिसन पुनः खोल्ने ब्लकको विदेश नीति प्रमुखले मङ्गलबार बताउनुभएको छ । “यो धेरै महत्त्वपूर्ण कदम हो, हामी सिरियामा प्रतिनिधिमण्डल पुनः खोल्नेछौँ”, इयुका काजा कल्लासले युरोपेली संसद्लाई भन्नुभयो । सिरियाका लागि इयुका शीर्ष कूटनीतिज्ञले सोमबार दमास्कसको भ्रमण गर्नुभयो ।
यसलाई कालासले ‘नयाँ नेतृत्व र अन्य विभिन्न समूह, नागरिक समाजसँग पनि रचनात्मक पहिलो सम्पर्क’ भन्नुभयो । युरोपेली राष्ट्रहरू अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै असद परिवारको पाँच दशक लामो प्रभुत्वको अन्त्यपछि सिरियामा प्रभावका लागि सङ्घर्ष गरिरहेका छन् । तर तिनीहरू इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा नयाँ अधिकारीहरूबाट सावधान छन् ।
एचटिएस अल–कायदामा निहित थियो र केही पश्चिमी सरकारद्वारा ‘आतङ्कवादी’ सङ्गठनका रूपमा सूचीबद्ध गरिएको छ । “हामी सिरियामा खालीपन छोड्न सक्दैनौँ, इयु यहाँ उपस्थित हुनुपर्छ”, कालासले भन्नुभयो । इयुले सिरियाका लागि समर्थन बढाउन तयार रहेको तर नयाँ नेताहरूले सम्मान गर्नुपर्ने सर्तहरू राखेको छ । ती शर्तहरूमा अल्पसङ्ख्यकहरूको संरक्षण, समावेशी सङ्क्रमणको निगरानी र उग्रवादको बहिष्कार समावेश छन् । कालासले सोमबार इयुले सिरियाको भविष्यमा मस्कोको कुनै स्थान नभएको भन्दै देशमा रूसी सैन्य आधारहरूको उपस्थितिलाई लिएर अधिकार प्राप्त गर्नेहरूलाई पनि दबाब दिने बताउनुभयो । रूसले गृहयुद्धका बेला आफ्ना सैनिकहरूद्वारा असदलाई समर्थन गर्यो र अब उहाँको निष्कासनपछि सुरक्षित आश्रय प्रदान गरेको छ ।