`

सङ्क्रमणपछि ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन’ का लागि संयुक्त राष्ट्रसङ्घका सिरियाली दूतको आह्वान

Nepal One HD ३ पुष २०८१ १९:१२
विश्व

संयुक्त राष्ट्रसङ्घका विशेष दूत जिर पेडरसनले बुधबार सिरियामा ‘स्वतन्त्र र निष्पक्ष चुनाव’ का लागि आह्वान गर्दै यस महिना बशर अल–असदको निष्कासनपछि युद्धग्रस्त देशलाई मानवीय सहायता गर्न आग्रह गर्नुभएको छ ।

दमास्कसमा पत्रकारहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब हामी नयाँ सिरियाको सुरुआत देख्न सक्छौँ भन्ने धेरै आशा छ ।” उहाँले कुर्दिशको कब्जामा रहेको उत्तरपूर्वमा ‘राजनीतिक समाधान’ पनि समावेश हुने आशा व्यक्त गर्नुभयो ।

राष्ट्रसङ्घका विशेष दूतले ‘सुरक्षा परिषद्को प्रस्ताव २३५४ अनुसार एउटा नयाँ सिरिया’ को आह्वान गर्नुभयो । उक्त प्रस्तावले नयाँ संविधान अपनाउनेछ र सङ्क्रमण अवधिपछि स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेछ ।

सन् २०१५ मा गृहयुद्धको चरम सीमामा पारित प्रस्ताव २३५४ ले सिरियामा राजनीतिक समझदारीको रोडम्याप तय गरेको थियो ।

डिसेम्बर ८ मा विद्रोही सेनाले दमास्कस कब्जा गरेपछि र असदको शासनलाई अपदस्थ गरेपछि पेडरसनले सिरियालीहरूले आफ्नो देशको पुनर्निर्माण गर्न सक्ने र पूर्व सरकारअन्तर्गत लगाइएका ‘प्रतिबन्धहरू अन्त्य गर्ने प्रक्रिया’ सुरु हुनसक्ने आशा व्यक्त गर्नुभयो ।

“हामीलाई तत्काल मानवीय सहायता चाहिन्छ, तर हामीले सिरियाको पुनर्निर्माण गर्न सकिन्छ भनेर पनि सुनिश्चित गर्न आवश्यक छ, ताकि हामी आर्थिक सुधार देख्न सक्छौँ”, उहाँले भन्नुभयो ।

अमेरिका समर्थित कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडिएफ) र टर्की समर्थित सशस्त्र समूहहरू बीच ठूलो तनाव बढ्ने डरका बीच पेडरसनले ‘उत्तरपूर्वको अवस्था सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक हो’ भनी उल्लेख गर्नुभयो ।

टर्कीले एसडिएफको मुख्य घटक, पिपुल्स प्रोटेक्सन युनिट (वाइपिजी) लाई कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) का लडाकुहरूसँग आबद्ध भएको आरोप लगाउँछ । पिकेकेलाई वासिङ्टन र अङ्कारा दुवैले ‘आतङ्कवादी’ समूह मान्छन् ।

संयुक्त राज्य अमेरिकाले मङ्गलबार मनबिजको फ्ल्यासपोइन्ट सहरमा नाजुक युद्धविरामका लागि विस्तार गरेको र टर्कीसँग व्यापक समझदारी खोजिरहेको बताएको छ ।

“म धेरै खुसी छु कि युद्धविराम नवीकरण भएको छ र यो जारी रहेको देखिन्छ, तर आशा छ कि हामीले त्यो मुद्दाको राजनीतिक समाधान देख्नेछौँ”, पेडरसनले भन्नुभयो ।


प्रतिक्रिया