तेल चुहावटले दुई लाख टन माटो प्रदूषित गरेको हुनसक्ने रुसको भनाइ

विश्व

यस महिना दक्षिणी रुसको तटमा दुई क्षतिग्रस्त ट्याङ्करबाट फैलिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको हुनसक्ने रुसका प्राकृतिक स्रोतमन्त्रीले सोमबार बताउनुभएको छ ।
“प्रदूषित माटोको मात्रा दुई लाख टनसम्म पुग्नसक्छ”, अलेक्जान्डर कोज्लोभले टेलिग्राममा ज्वेज्दा च्यानलद्वारा प्रसारण गरिएको बैठकमा भन्नुभयो ।
डिसेम्बर १५ मा दुई रूसी तेल ट्याङ्कर भोल्गोनफ्ट–२१२ र भोल्गोनफ्ट–२३९ केर्च स्ट्रेटमा आँधीबेहरीको चपेटामा परेका थिए । तीमध्ये एउटा डुबेको थियो र अर्को किनारामा पुगेको थियो ।
यो जलडमरूमध्यले दक्षिणी रुसलाई क्रिमियाको युक्रेनी प्रायद्वीपबाट अलग गर्दछ । क्रिमियालाई रुसले सन् २०१४ मा कब्जा गरेको थियो ।
रूसी अधिकारीहरूका अनुसार जहाजहरूमा नौ हजार दुई सय टन इन्धन तेल थियो र त्यसमध्ये करिब ४० प्रतिशत समुद्रमा पोखिएको हुनसक्छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता यसलाई ‘पर्यावरणीय विपत्ति’ भन्नुभएको थियो ।
दर्जनौँ किलोमिटरको समुद्र तटमा इन्धन तेल फेला परेको थियो । विशेष गरी अनपाको समुद्री रिसोर्टमा ठूलो क्षति पुगेको थियो ।
स्थानीय अधिकारीहरूद्वारा प्रसारण गरिएका तस्बिरहरूका अनुसार संलग्न क्रिमियाको बन्दरगाह सहर केर्चमा पनि यसको किनारमा इन्धन तेल आइपुगेको देखा परेको छ ।
क्षेत्रीय गभर्नर भेनियामिन कोन्द्रातयेभले सोमबार प्रकाशित गरेको तस्बिरअनुसार सेतो सुरक्षात्मक पहिरनमा स्वयंसेवकहरूले यस क्षेत्रका समुद्र तटहरू सफा गरिरहेका छन् ।
“हिजो राति लगभग सबै कुरा सफा भइसकेको स्वयंसेवकहरूले बताएका छन् तर रातको समयमा छालहरूले फेरि इन्धन तेल जम्मा गरे”, उहाँले भन्नुभयो ।
स्वयंसेवकहरूले उपचार गरिरहेका तेल लागेका चराहरूका तस्बिरहरू पनि स्थानीय अधिकारीहरूले प्रसारण गरेका छन् ।
तेल चुहावटले १० वटा डल्फिनको पनि मृत्यु भएको हुनसक्ने तर मृत्युको कारण पुष्टि गर्न परीक्षण आवश्यक रहेको विशेषज्ञ डेल्फा केन्द्रले आइतबार बताएको छ । “यो अत्यन्त चिन्ताजनक स्थिति हो”, कृष्ण सागरमा डल्फिनहरूको संरक्षण गर्ने वैज्ञानिक संस्थाले टेलिग्राममा भनेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट