उद्योगमन्त्री भण्डारीसँग बिम्स्टेकका महासचिव पाण्डेको शिष्टाचार भेट
राजनीति
काठमाडौँ, २४ पुसः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले बिम्स्टेक क्षेत्रलाई दिगो विकास, आर्थिक एकीकरण र साझा समृद्धिको क्षेत्रमा रुपान्तरण गर्न बिम्स्टेक बडापत्रमा समाविष्ट उच्च आदर्श र उद्देश्यप्रति नेपाल दृढ रहेको बताउनुभएको थियो ।
मन्त्री भण्डारीको सचिवालयका अनुसार उहाँले सन् २००४ मा बिम्स्टेकको सदस्य भएदेखि नेपालले बिम्स्टेक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिको सर्वाङ्गीण लक्ष्य प्राप्त गर्न सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग र साझेदारी अभिवृद्धि गर्न सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो ।
सन् २००४ मा हस्ताक्षर भएको बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी फ्रेमवर्क सम्झौतालाई पूर्णरुप दिन र यसअन्तर्गतका विभिन्न पूरक सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने कार्यमा हालसम्म विभिन्न संयन्त्रको बैठकमा नेपाल निरन्तर सहभागी भएको उहाँले बताउनुभयो ।
भेटका क्रममा बिम्स्टेकका महासचिव पाण्डेले बिम्स्टेकसँग नेपालले राखेका अपेक्षा पूरा गर्न प्रयत्न गर्ने बताउनुभयो । उहाँले बिम्स्टेक राष्ट्रबीचको व्यावसायिक सम्बन्धसँगै आपसी भाइचारासमेत बढाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
