क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा नयाँ भन्सार दर लगाउँदै अमेरिका


बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा हुने आयातमा शनिबरबाट नयाँ आयात शुल्क घोषणा गर्ने तयारी गरेका छन् ।
यस्तो शुल्क मेक्सिको र क्यानडाका लागि २५–२५ प्रतिशत र चीनका लागि १० प्रतिशत पुर्याउन लागिएको ह्वाइटहाउसले जनाएको छ।
तर ट्रम्पले शुक्रबार बताए अनुसार क्यानडामा उत्पादन हुने तेलले कम आयात शुल्क बेहोर्ने र त्यो केही पछि अर्थात् १८ फेब्रुअरीबाट कार्यान्वयनमा आउने बताएका छन्।
ट्रम्पले भविष्यमा युरोपेली सङ्घ ईयूका लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताएका छन्। उनले युरोपेली देशहरूको समूहले अमेरिकाप्रति राम्रो व्यवहार नगरेको बताएका छन्।
ह्वाइटहाउसकी प्रेस सेक्रेटरी करोलाइन लेभिटले क्यानडा र मेक्सिकोले तिर्नुपर्ने त्यस्तो भन्सार शुल्क ‘उनीहरूकहाँबाट आएर अमेरिकामा वितरण गर्न दिइएको दशौँ लाख अमेरिकीहरूको ज्यान लिने गैरकानुनी फेन्टनिल नामक औषधि’ को जवाफ भएको बताएकी छन्।
ट्रम्पले यो कदम अमेरिकी सीमासम्म आइपुग्ने ठूलो सङ्ख्यामा रहेका कागजातविहीन आप्रवासीलाई सम्बोधन गर्न र छिमेकीसँगको व्यापार घाटा कम गर्न चालिएको बताएका छन्।
आफ्नो चुनावी प्रचारप्रसारका क्रममा ट्रम्पले चीनमा निर्मित उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका थिए। तर आफ्नो नयाँ कार्यकालको पहिलो दिनमै उनले त्यससम्बन्धी कुनै अपर्झट निर्णय गरेनन्।
बरु उनले आफ्नो प्रशासनलाई यस विषय अध्ययन गर्न आदेश दिए। सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ।
अर्थशास्त्रीहरूले त्यस्तो आँकडालाई केही हदसम्म ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बढाएको भन्सार शुल्कसँग जोडेर हेर्ने गर्छन्।