`

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

Nepal One HD २० माघ २०८१ १०:३६
खेलकुद

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शीर्ष स्थानमा नौ अंकको अग्रता कायम गरेको छ । गएराति बर्नमाउथको ११ खेलसम्मको अपराजित यात्रा समाप्त गर्दै लिभरपुलले २–० गोलको जित दर्ता गरेको हो ।

खेलको ३१औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । बर्नमाउथका कुकले गाक्पोलाई फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

जसलाई सालाहले पोस्टको तल्लो दायाँ कुनामा प्रहार गर्दै यो सिजन आफ्नो २०औं गोल पूरा गरे । खेलको ३८औं मिनेटमा बर्नमाउथले बराबरी गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्री (भार)ले डेविड ब्रुक्सको गोललाई अफसाइड घोषणा गरेको थियो । दोस्रो हाफमा बर्नमाउथका क्लुइभर्टले उत्कृष्ट मौका गुमाए ।

ट्याभर्नियरको प्रहार पोस्टमा लागेर फर्केको बलमा क्लुइभर्टले गरेको प्रहार बाहिर गएको थियो । लिभरपुलले खेलको ६०औं मिनेटमा अर्को गोल गरेको थियो ।

जोन्सले उत्कृष्ट काउन्टर–अट्याकमा दायाँतर्फ रहेका सलाहलाई पास दिए । जसलाई सालाहले आफ्नो ट्रेडमार्क शैलीमा बललाई डिफेन्डर कट गर्दै गोल गरेका थिए ।


प्रतिक्रिया