`

हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा

Nepal One HD २६ माघ २०८१ १९:०९
विश्व

सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरिएको छ । बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा राख्दै आएका १८३ कैदीलाई रिहा गरेको छ । शनिबार रिहा भएका तीन इजरायली बन्धकहरू ५६ वर्षीय ओहाद बेन अमी, ५२ बर्षीय एली शाराबी र ३४ बर्षीय या लेवीलाई शनिबार नै उनीहरूको परिवार र आफन्तको जिम्मा लगाइएको छ ।

हमासले रिहा गरिएका बन्धकलाई गाजाको देइर अल–बलाह शहरको तोकिएको हस्तान्तरण स्थलबाट अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को जिम्मा लगाएको हो ।
कमजोर र थकित देखिएका तीनै जना बन्धकहरूलाई मञ्चबाट आफ्ना अनुभव र रिहाइबारे बोल्नका लागि हमासले निर्देशन दिएपछि उनीहरूले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले आईसीआरसीलाई सुम्पेको थियो ।

हमासले बन्धक बनाएका तीन जना इजरायली बन्धकलाई मध्य गाजाबाट आइसीआरसीको टोलीले इजरायली सीमामा तैनाथ इजरायली रक्षा बल (आइडीएफ)समक्ष स्थानान्तरण गरिएको थियो ।

इजिप्ट र कतारको मध्यस्थता र संयुक्त राज्य अमेरिकाको समन्वयमा हमास र इजरायलबीच युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक–कैदी अदलाबदलीको यो पाँचौँ समूह हो ।

यसैबीच, इजरायलले शनिबारदेखि नै थप इजरायली जेलबाट थप १८३ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको हो ।


प्रतिक्रिया