भूमिसम्बन्धी अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था छैन : मीन विश्वकर्मा


काठमाडाैँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको बताएका छन् ।
रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारले हतार गरेकै कारण अहिले अध्यादेश जस्ताकोतस्तै पारित हुने अवस्था नबनेको बताए ।
संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरु फराकिलो छलफलमा रहेको नेता विश्वकर्माले बताए । उनले प्रतिस्थापन विधेयकमार्फत अध्यादेशमा रहेका विषयहरु संशोधन गर्नेगरी अगाडि बढ्न सरकार लचिलो र फराकिलो बनिरहेको र त्यससन्दर्भमा मिहिन ढंगबाट छलफल भइरहेको जानकारी दिए । अध्यादेश ल्याउन पाउने कुरामा कुनै विमति नरहेको र यो प्रक्रिया संविधानसम्मत नै रहेको उनको भनाइ छ ।
साक्षात्कारमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउने सन्दर्भमा आफ्नो दलको समर्थन नरहने बताए । कांग्रेस लुरुलुरु प्रधानमन्त्रीको पछाडि हिँड्न बाध्य भएको हो कि भन्ने आफू र आफ्नो पार्टीको आशंका रहको उनले बताए ।
खतिवडाले अध्यादेशको प्रक्रियालाई समाप्त गरेर विधेयकमार्फत कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरे ।