प्रतिनिधिसभाका सांसदविरुद्ध राष्ट्रिय सभाबाट खेदप्रस्ताव पारित गरिनु दुःखदः सांसद पन्त
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले नेपाल दुई सदनात्मक संसदीय प्रणालीको अभ्यास गर्ने मुलुक भएको उल्लेख गर्दै एउटा सभाका एक सांसदले बोलेको विषयलाई अर्को सभाले खेद प्रस्ताव पारित गर्ने अभ्यास गलत भएको बताएका हुन् ।
राष्ट्रियसभा वृद्धाश्रम नभई पाकाहरुको संसद भएको उल्लेख गर्दै उनले प्रतिनिधिसभाका सांसदविरुद्ध खेदप्रस्ताव पारित गरिनु दुःखद भएको बताए ।
उनले भने, ‘प्रतिनिधिसभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैंमा दुःखद हो । यसबाट पाठ सिकौं, कसै व्यक्तिलाई दोष नदिउँ । दुवै सदनले द्वन्द्व उत्पन्न हुने काम नगरौं, संविधानले दुई संसदीय प्रणाली अंङ्गिकार गरेको छ । दुई सदन छन् । यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ ।’
राप्रपाका सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्तिलाई लिएर हिजो राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो । सांसद शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए ।
