प्रधानमन्त्री ओली र प्रकृतिका आमाबाबु बिच कुराकानी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति लम्सालका बुवा सुनिल लम्सालसँग फोनवार्ता गरेका छन्।
एमाले नेता मधेश बस्नेतले भैरहवास्थित घरमै पुगेर लम्सालका बुवाआमालाई भेटेर समवेदना प्रकट गरेपछि प्रधानमन्त्रीसँग कुराकानी गराएका हुन्।
कुराकानीकाक्रममा प्रकृतिका बुवा सुनिलले प्रधानमन्त्री ओलीलाई आफ्नो छोरीको घटना भए पनि अब नेपालीका छोराछोरीको यो अवस्था सुन्नु नपर्ने परिस्थिति बनाउन सुझाव दिएका छन्।
प्रधानमन्त्रीसँगको कुराकानीमा सुनिलले भने, ‘‘अब हाम्रो त घटना भइसक्यो, होइन। घटना भइनै सक्यो। त्यहाँ समग्र नेपालीका छोराछोरी हुनुहुन्छ। आगामी दिनमा यस्तो घटना सुन्नु नपरोस्। हजुरको तर्फबाट राज्यले पहल गरिदेओस्। घटना घटिसक्यो। दुर्घटना भइसक्यो।’’
जवाफमा प्रधानमन्त्रीले सरकारले चासो लिएको बताएका छन्। ओलीले सुझाव सुनिसकेपछि भनेका छन्, ‘हामीले चासो लिएका छौँ। कूटनीतिक ढंगले र सरकारी तवरबाट चासो लिएकै छौँ।’
प्रधानमन्त्री ओलीले समग्र विषयमा परिवारसँग थप जानकारी लिँदै न्यायको लागि पहल गर्ने र घटनामा संलग्न अपराधीलाई कारबाही गर्नको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। नेता बस्नेतले भैरहवा स्थित उनको घरमै पुगेर बुवाआमा र परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन्।
ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत प्रकृति लम्साल फागुन ४ मा मृत फेला परेकी थिइन् । यो घटनामा संलग्न भएको आरोपमा ओडिसा प्रहरीले भारत उत्तर प्रदेशका एक विद्यार्थीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
त्यस्तै नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गरेको दुर्व्यवहारको भारतमै चर्को विरोध भएपछि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई अध्ययनमा फर्किन आग्रह गरेको छ । यो घटनापछि दुई सयभन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् । कीट विश्वविद्यालयमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।