युक्रेनमा शान्ति, सुरक्षाका लागि बेलायतका प्रधानमन्त्रीद्वारा चारबुँदे प्रस्ताव


बीबीसी । बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेका छन् । उनले बेलायत, फ्रान्स र अन्य देशहरू पनि ‘इच्छुकहरूको गठबन्धन’मा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास गरिने बताएका छन् ।
‘हामी आज इतिहासको दोबाटोमा छौँ,’ युरोपका १८ देशका नेताहरू सहभागी सम्मेलनपछि स्टार्मरले भने। सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका थिए ।
सम्मेलनपछि युक्रेनले ‘बलियो साथ’ पाएको महसुस गरेको र ‘लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता’ देखिएको जेलेन्स्कीले बताए । ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच चर्काचर्की भएको दुई दिनपछि लन्डनमा यो सम्मेलन आयोजना भएको थियो ।
सम्मेलनपछि पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री स्टार्मरले चारबुँदे सहमति भएको बताएका छन् । चार बुँदे सहमतिमा युक्रेनमा सैन्य सहायताको आपूर्ति जारी राख्ने र रुसमाथि आर्थिक दबाव कायमै राख्ने, दिगो शान्ति कायम गर्दा युक्रेनको सार्वभौमसत्ता तथा सुरक्षा सुनिश्चित गर्ने र युक्रेनलाई सबै शान्ति वार्तामा उपस्थित गराउने, शान्ति सम्झौता भएको अवस्थामा भविष्यमा युक्रेनमाथि हुनसक्ने कुनै पनि आक्रमणलाई रोक्न उसको रक्षा क्षमता बढाउने र युक्रेनबारे सम्झौताको पक्ष लिन र त्यसपछि शान्तिको सुनिश्चितता गर्न ‘इच्छुकहरूको गठबन्धन’ विकास गर्ने उल्लेख छ ।
स्टार्मरले थप १.६ अर्ब पाउन्ड सहयोगको घोषणा पनि गरेका छन् । बेलायतको निर्यातबाट आर्जित रकमबाट दिइने उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदमा खर्च गर्ने छ।
यो सहयोग यसअघि घोषणा गरिएको २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिभन्दा फरक हो । यसअघि स्टार्मरले रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट युक्रेनी सैन्य सामग्रीका उक्त ऋण दिने घोषणा गरेका थिए । सम्मेलनमा फ्रान्स, पोल्यान्ड, स्वीडन, टर्की, नर्वे, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, द नेदरल्यान्ड्स, रुमेनिआ, फिनल्यान्ड, इटली, स्पेन र क्यानडा सहभागी थिए ।