युक्रेन र अमेरिकाबीच अर्को साता फेरि वार्ता हुने


बीबीसी । अर्को साता साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यो वार्ता ‘अर्थपूर्ण’ हुने आफूले आशा गरेको बताएका छन् । उक्त समयमा जेलेन्स्की पनि साउदी अरबमा हुने छन् । तर उनी वार्तामा सहभागी हुने छैनन् ।
आफूहरू ‘चाँडो र दीर्घकालीन शान्ति’ हासिल गर्न कार्यरत रहेको किएभले बताएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले अमेरिकी प्रतिनिधिमण्डलले रुस–युक्रेन युद्ध अन्त्य गर्न आवश्यक ‘शान्तिका निम्ति प्रारूप’ पहिल्याउने कोसिस गर्ने बताए ।
गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच सार्वजनिक चर्काचर्की भएको थियो– त्यतिखेर ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको बताएका थिए। लगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएका सैन्य सहयोग स्थगन अनि खुफिया जानकारी दिने काममा रोक लगाइदियो ।
युक्रेनी राष्ट्रपतिले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकासँगको सम्बन्ध सुधार्न खोजेका छन् । युक्रेनका लागि अमेरिका सबैभन्दा ठूलो सैन्य सहयोगदाता थियो । बिहीबार ट्रम्पले जेलेन्स्कीले लेखेको पत्र प्राप्त गरेको विट्कफले बताए । उक्त पत्रमा ‘क्षमायाचना’ तथा ‘कृतज्ञता’ झल्किएको पनि उनले बताए ।
‘आशा गरौँ अब युक्रेनीहरूसँगका मामिला सही मार्गमा आउने छन् र पुरानो अवस्थामा फर्किने छन्,’विट्कफले भने । शान्ति वार्ताका अगाडि आफ्ना तर्फबाट ‘छुट’हरू दिन युक्रेनमाथि अमेरिकाको चर्को दबाव परेको छ भने युक्रेनी राष्ट्रपतिले चाहिँ किएभका लागि दृढ सुरक्षा सुनिश्चितता खोजेका छन् । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनको आक्रमण गरेको थियो । उसले हाल युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण जमाएको छ ।