`

राजनीतिक दलले सधैँ चुनावको मात्र चिन्ता गरेर देश बन्दैन : महामन्त्री शर्मा

Nepal One HD २५ फागुन २०८१ ७:४१
राजनीति

काभ्रेपलाञ्चोक- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा नगर समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा भ्रातृ एवं शुभेच्छुक संस्था विस्तार कार्यक्रममा पार्टीले आगामी २०८४ सालमा हुने निर्वाचनभन्दा पनि मुलुक र जनताको चिन्ता गरेको उहाँले बताउनुभयो ।

“केही पुराना र नयाँ पार्टीले २०८४ सालको चुनावको चिन्ता गरिरहेका छन्, राजनीतिक दलले सधैँ चुनावको मात्र चिन्ता गरेर देश बन्दैन । देशको चिन्ता गर्नेतर्फ लागौँ”, शर्माले भन्नुभयो । उहाँले निर्वाचनको मात्रै चिन्ता गर्दा देशको चिन्ता कहिले गर्ने भन्दै प्रश्न गर्नुभयो । “कांग्रेस इतिहास बोकेको पार्टी हो, लाखौँ कार्यकर्ताको विश्वास जितेको छ । यो पार्टीले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन”, उहाँले थप्नुभयो । 

महामन्त्री शर्माले नेताकार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्नसमेत निर्देशन दिनुभयो । “बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै खालका विवाद छैन, काम गर्दा केही कमीकमजोरी भएका हुनसक्छन्”, उहाँले भन्नुभयो, “तपाईंहरू नआत्तिनुस् र निर्धक्क भएर काम गर्नुस् ।” पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उहाँले आगामी चुनावमा कांग्रेस एकढिका भएर जाने प्रस्ट पार्नुभयो । 

“कांग्रेस देशमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता हो, पार्टीभित्रको केही आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन पनि जित्न सकिँदैन, त्यसो भएर कांग्रेस एकढिका भएर जानुपर्छ”, शर्माले दाबी गर्नुभयो । उहाँले आजै मण्डनदेउपुरका राजनीतिज्ञ एवं समाजसेवी स्व हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र मधुप्रसाद आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने विचार व्यक्त गर्नुभयो । कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे, कांग्रेस जिल्ला सभापति तीर्थ लामा, क्षेत्रीय सभापति महेश खरेल, कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेललगायतले नेपाली कांग्रेस एक ढिका भएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया